२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फखर जमानको आक्रामक शतक, वर्षाले प्रभावित खेलमा पाकिस्तान विजयी

Pakistan won the rain affected match

बैंग्लुरु । वर्षाले प्रभावित बनेको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई डीएलएस मेथडका आधारमा २१ रनले पराजित गरेको छ । पाकिस्तानको पालीको २६ औँ ओभरमा वर्षाले खेल रोकिएपछि डीएलएस मेथडका आधारमा विजेता चयन गरिएको हो ।

पाकिस्तानले फखर जमानको शतक र कप्तान बाबर आजमको अर्धशतकको मद्दतले २५.३ ओभरमा १ विकेटको क्षतिमा २ सय रन बनाएको थियो । जमानले ८१ बलमा १ सय २६ रनको विस्फोटक पाली खेले । उनले ८ चौका र ११ छक्का हिर्काए । बाबरले ६३ बलमा ६६ रन बनाए । उनले छ चौका र २ छक्का प्रहार गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ४ सय १ रन बनाएको थियो । एकदिवसीय विश्वकपमा न्युजिल्याण्डले बनाएको यो सबैभन्दा ठुलो योगफल हो ।

न्युजिल्याण्डका लागि युवा ब्याट्सम्यान रचिन रवीन्द्र नायक बने । उनले यो विश्वकपमा अर्को शतक बनाउँदै टोलीलाई ठुलो योगफलतर्फ डोर्‍याए । मात्र ९४ बलमा १ सय ८ रन बनाएका उनले १५ चौका र १ छक्का हिर्काए । योसँगै आफ्नो पहिलो विश्वकपमा नै तीनवटा शतक बनाउने उनी विश्वकै पहिलो खेलाडी बनेका छन् । न्युजिल्याण्डका लागि एउटै विश्वकपमा तीन शतक बनाउने पनि उनी पहिलो हुन् । उनलाई कप्तान केन विलियमसनले ९५ रन बनाउँदै राम्रो साथ थिए । शतकको नजिक पुगेर चुकेका विलियमसनले ७९ बलमा १० चौका र दुई छक्का हिर्काए ।

खेलको अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै ग्लेन फिलिप्सले २५ बलमा ४१ रन बनाए । त्यस्तै मार्क च्यापम्यानले ३९ तथा डेभन कनवेले ३५ रनको योगदान दिए । पाकिस्तानका लागि मोहमद वसिमले ३ तथा हसन अली, इफ्तिकार अहमद र ह्यारिस राउफले १–१ विकेट लिए ।

जीतपछि पाकिस्तान नेट रन रेटका आधारमा अफगानिस्तानलाई उछिनेर पाँचौ स्थानमा उक्लिएको छ । तर अफगानिस्तानले एक खेल कम खेलेको छ । न्युजिल्याण्ड र पाकिस्तानको समान ८–८ अंक भए पनि न्युजिल्याण्ड चौथो स्थानमा कायम छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस