२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खुम्बु पुगेर स्थानीयसँग राष्ट्रसंघका महासचिवले फोटो खिचाए : जलवायु परिवर्तनको असरमा सहयोगको बचन

After reaching Khumbu the Secretary General of the United Nations took photos with the locals

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

चारदिने नेपाल भ्रमणका क्रममा सोमबार सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ का स्थानीय बासिन्दासँगको अन्तरक्रियामा जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयबारे जानकारी लिएका छन्। महासचिव गुटेरेसले जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप-२८)मा खुम्बुवासीका सुझाव सहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने बताए।

उनले विश्वमा प्रदूषण बढ्नुमा धनी देशको भूमिका रहेको तर खुम्बु पासाङल्हामु गाउँपालिका जस्ता दुर्गम स्थानमा नकारात्मक असर पर्नु दुःखद भएको बताएको खुम्बु पासाङल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए। महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्या कम गर्न के गर्न सकिन्छ भनेर पहल गर्ने र उक्त सन्देश विश्वभरि लैजाने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय बासिन्दाले हिमनदी पग्लिने क्रम बढेको, जलवायुजन्य हानिनोक्सानी बढेको, पानीका स्रोत सुक्दै गएको, स्थानीय बालीनालीमा जलवायुको असर परेको, नांगा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेको जस्ता विषय महासचिव गुटेरेसलाई अवगत गराएको अध्यक्ष अधिकारीले बताए। साथै, स्थानीयले गाउँमा ऊर्जाको अभाव रहेको र लघु जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागि समेत आग्रह गरेका थिए।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर-हाम्दी र संयुक्त राष्ट्रसंघका अन्य अधिकारीहरू सहभागी छन्।

महासचिव गुटेरेस नेपाल भ्रमणका क्रममा आइतबार बिहान काठमाडौं आएका थिए। भ्रमणको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा उनी सगरमाथा क्षेत्र र पोखराका साथै अन्नपूर्ण आधारशिविर र लुम्बिनी जाने कार्यक्रम छ। यही कात्तिक १४ गते मंगलबार अपराह्न संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्। -रासस

 

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस