२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रपति, प्रधानमन्त्रीदेखि स्थानीय तहका वडा अध्यक्षसम्मको नयाँ मर्यादाक्रम

A new order of dignity from the president, prime minister to local ward chairpersons In Nepal

काठमाडौं । मर्यादाक्रममा सामान्य हेरफेर गर्दै राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक पारित गरेको छ।

पारित भएको विधेयक राष्ट्रिय सभाको मंगलबारको बैठकमा पेश गर्ने तयारी छ। राष्ट्र गानको प्रयोग, राष्ट्रपति, प्रधानमन्त्रीदेखि स्थानीय तहका वडा अध्यक्षसम्मको मर्यादाक्रम निर्धारण, शोक तथा सम्मानमा दिने सलामी, राष्ट्रिय झण्डाको प्रयोग लगायतका विषय समेटेर राष्ट्रिय सभाका सांसदहरूले गैरसरकारी विधेयक ल्याएका थिए।

राष्ट्रिय सभाको समितिले सांसदहरूले ल्याएको विधेयकमा खासै हेरफेर नगरी मर्यादाक्रममा मात्र सामान्य परिमार्जन गरेका छन्। यसअघि विधेयक ल्याउँदा सांसदहरूले सभामुख र राष्ट्रिय सभा अध्यक्ष पछि प्रधानन्यायाधीशको मर्यादाक्रम राखेका थिए। तर समितिले संविधानको धारा २९३ मा भएको संवैधानिक परिषद्को व्यवस्थामा भए अनुसार प्रधानन्यायाधीशको मर्यादाक्रम माथि राखेका छन्। सभामुख र राष्ट्रिय सभाको अध्यक्षको मर्यादाक्रम क्रमशः राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश पछि एउटै लहरमा राखिएको छ। तर सभामुख अघि र राष्ट्रिय सभाका अध्यक्ष पछि लेखिएको छ।

त्यसपछि पूर्वराष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, पूर्व प्रधानन्यायधीशको मर्यादाक्रम निर्धारण गरिएको छ। त्यसपछि पूर्व सभामुख, राष्ट्रिय सभाका पूर्व अध्यक्षको मर्यादाक्रम राखिएको छ। त्यसपछि भने प्रतिनिधि सभाका विपक्षी दलका नेताको मर्यादाक्रम कायम गरिएको छ। समितिले सरकारका उपप्रधानमन्त्री, मन्त्री र प्रदेशका मुख्यमन्त्री भन्दा माथि प्रतिनिधि सभाका विपक्षी दलको नेताको मर्यादाक्रम कायम गरेको छ।

त्यसैगरी यसअघि उपप्रधानमन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्री (आफ्नो) प्रदेशमा क्रमशः रहने गरी मर्यादाक्रम प्रस्तावित गरिएकोमा त्यसमा समेत सामान्य हेरफेर गरिएको छ। उपप्रधानमन्त्री र प्रदेश प्रमुख भन्दा एक तह मुनी मुख्यमन्त्रीको मर्यादा निर्धारण गरिएको छ। केन्द्र सरकारका मन्त्री पछि मुख्यमन्त्रीको मर्यादाक्रम बनाइएको छ। राष्ट्रिय सभाले यहि अधिवेशनबाट यो गैरसरकारी विधेयक पारित गर्ने तयारी गरेको छ। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाबाट पनि पारित भएपछि विधेयकले कानूनी हैसियत प्राप्त गर्नेछ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस