२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्र संघका महासचिव नेपालमा, उच्चस्तरीय भेटदेखि लुम्बिनी सगरमाथा अन्नपूर्ण यात्रा

१२ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा आज नेपाल आएका छन् । राति एक बजे उनी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत गरे ।

भ्रमणको पहिलो दिन आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा महासचिव गुटरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछि गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमणका क्रममा उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । मङ्गलबार अपराह्न ४ बजे महासचिव गुटरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको उच्चस्तरीय यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस