२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

५० रुपैयाँको नक्कली सिक्रीका लागि साथीको हत्या

Crime hatya

१० कात्तिक, जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ हर्दिया गाउँका आशिक भन्ने वसन्त पासवानको ५० रुपौयाँको नक्कली सिक्रीका लागि हत्या भएको खुलेको छ । बुधबार राति गाउँमै लागेको दशैं मेला हेर्न गएका १९ वर्षीय वसन्तले मेलामा रु ५० मा एउटा सिक्री किनेका थिए । सोही सिक्री लगाएर फोटो खिच्ने भन्दै उनीसँगै गएका साथी दीपक मल्लिकले वसन्तको सिक्री लिएर फोटो खिचेका थिए ।

तर फोटो खिचिसकेपछि वसन्तले आफ्नो सिक्री माग्दा दीपकले नदिएपछि झगडा भयो । त्यही विवादमा दीपक र अर्का साथी अमित मल्लिक मिलेर वसन्तलाई छुरा हानेका प्रहरीको अनुशन्धानमा खुल्यो । हत्यामा संलगन रहेका भारतको विहार राज्यको मधुवनी जिल्लाको जयनगर बस्ने १९ वर्षीय दीपक मल्लिक र उनका भाइ नाता पर्ने सोही जिल्लाको साहरघाट बसबरिया बस्ने १८ वर्षीय अमित मल्लिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

दीपक र अमित पिपरा–५ बस्ने मामा सुरेश मल्लिकको घरमा बस्दै आएका थिए । मामाघर बस्दै आएका बेला सोही गाउँका वसन्तसँग मित्रता भएको थियो । बिहीबार राति एक स्थानीय जगदीश साहको खेतमा वसन्तको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीको नेतृत्वमा खटिगएको प्रहरी टोलीले हत्याको आरोपमा मामाघरमा लुकी बसेका दीपक र अमितलाई पक्राउ गरेको थियो । उनीहरुसँग लिइएको बयानमा हत्याको कारण नक्कली सिक्री भएको खुल्न आएको हो अनुशन्धानमा खटिएका अधिकारीले भने ।

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस