२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

खुट्टामा ढोग्न नमान्दा हत्या, फरार दुईजना पक्राउ

Killed for refusing to kneel

सल्यान, १० कात्तिक । यही कात्तिक ४ गतेको दिन सल्यान बागचौर नगरपालिका वडा नम्बर ७ स्यालागाउँका २० वर्षीय घनश्याम वली आफ्नै गाउँको उपकार आधारभूत विद्यालय स्थित खेल मैदानमा भलिवल खेल्नको लागि दिउँसो करिव ४ बजेतिर साथीहरुसंग जम्मा भएका थिए । त्यत्तिकैमा बागचौर–७ कै केशर वली र सन्तोष वली पनि उक्त स्थानमा आइपुगे । उनीहरुले रक्सी पिएका थिए ।

रक्सीले मात्तिएका दुइजना मध्ये केशरले “ए भाइ तेरो दाइलाई ढोग गर“ भन्दै आफ्नो खुट्टामा घनश्यामलाई ढोग गर्न लगाए । तर घनश्यामले मैले “तपाइँलाई किन खुट्टामा ढोग गर्ने, ढोग्दिन“ भनेपछि केशर र घनश्यामबिच हात हालाहाल भयो । सो क्रममा रक्सी सेवन गरेका केशर र सन्तोषले घनश्यामको टाउको र शरीरका अन्य भागमा मरणासन्न हुनेगरी कुटपिट गरेर घाइते बनाइ भागेर गए ।

कुटपिटबाट घाइते भएका घनश्यामलाई उनको घरपरिवारले उपचारका लागि भारतको नानपारामा लगे । तर उपचारकै क्रममा बुधबार (८ कात्तिक) २० बर्षीय घनश्यामको मृत्यु भयो । सल्यान प्रहरीले कुटपिट गरी हत्या गरेको आरोपमा ती दुई युवालाई पक्राउ गरेको छ ।

२५ वर्षीय केशर र २३ वर्षीय सन्तोष वलीलाई हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कुटपिट गरी फरार भएका सन्तोषलाई दाङ तुलसीपुर उपमहानगरपालिका १२ रझेना र केशरलाई बागचौर नगरपालिका ९ मौरीघारे परीलेखमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सल्यानबाट पक्राउ पुर्जी जारी गरी इलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखिएको प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस