२०८१ मङ्सिर ४ गते मङ्गलवार | 2024 November 19th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेले टी–२० विश्वकप क्वालिफायर खेल्ने, टीयू मैदानमा देखिए

Sandeep Lamichhane will play T20 World Cup Qualifier

काठमाडौँ । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले घरेलु मैदानमा हुने टी–२० विश्वकप छनोट प्रतियोगिता खेल्ने मनस्थिति बनाएका छन् । हाल जारी त्रिकोणात्मक टी–२० सिरिज नखेलेका सन्दीप नेपालका लागि महत्त्वपूर्ण प्रतियोगितामा उपलब्ध हुने भएका हुन् ।

उनी आजको त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा यूएईविरुद्धको नेपालको खेल हेर्न टीयू मैदानमा देखिएका छन् । भीआईपीको रोमा बसेर उनी टोलीलाई हौसला दिइरहेका छन् ।

अदालतमा जारी मुद्दाको फैसलामा ढिलाइ हुँदा तनावमा रहेका सन्दीपले त्रिकोणात्मक शृङ्खला नखेल्ने निर्णय लिएका थिए । प्रतियोगिताअघि उनले परिवारसँग समय बिताउन चाहेको भन्दै राष्ट्रिय टिमबाट नाम फिर्ता लिएको घोषणा गरेका थिए । सन्दीपको अनुपस्थितमा त्रिकोणात्मक सिरिजमा नेपालको स्पिन आक्रमण केही फितलो बनिरहेको छ ।

क्रिकेटप्रेमी दर्शक एवं शुभचिन्तकको चाहनामा सन्दीप विश्वकप क्वालिफायर खेल्न तयार बनेको निकट स्रोतले बताएको छ । नेपालको टिमबाट अलग भएपछि घुमघाममा हिँडेका उनी अहिले काठमाडौं फर्किसकेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकप छनोटका लागि टिम घोषणा गर्न बाँकी छ । अब घोषणा हुने स्वक्वाडमा सम्भवतः सन्दीपले कम ब्याक गर्नेछन् ।

यता, काठमाडौं जिल्ला अदालतमा विचाराधीन सन्दीपको मुद्दाको आगामी पेशी कार्तिक २३ गतेलाई तोकिएको छ । त्योभन्दा अगाडि नै विश्वकप छनोट प्रतियोगिता सम्पन्न भइसक्ने भएकाले सन्दीपको खेल प्रभावित हुनेछैन । टी (२) विश्वकपको आगामी संस्करण २०२४ को जूनमा अमेरिका र वेस्ट इन्डिजमा हुने भएको छ । त्यसका लागि एसिया क्षेत्रको छनोट प्रतियोगिता नेपालमा यही अक्टोबर ३० (सोमबार) बाट हुँदैछ । मूलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरूमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् । ८ टिमलाई दुई समूहमा राखेर खेलाइने छ भने दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा पुग्ने दुई टिम विश्वकपका लागि छनोट हुनेछन् ।

नेपालको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । समूह ‘बी’मा युएई, हङकङ, कुवेत र बहराइन रहेका छन् । समूह ‘ए’बाट नेपाल र ओमान तथा समूह ‘बी’बाट युएई र हङकङ सेमिफाइनलका दाबेदार हुन् । नेपाल उपाधिको दावेदारसमेत हो । नेपालले आफ्ना सबै खेलहरू कीर्तिपुर मैदानमा खेल्नेछ । नेपालको पहिलो म्याच सोमबार सिंगापुरविरुद्ध छ ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस