२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मुगुमा एकै परिवारका चार जनाको हत्या

सुर्खेत, १० कात्तिक । मुगुको छायानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा एकै घरका चार जनाको हत्या गरिएको छ। मुन्दु गाउँमा एकै घरपरिवारका चार जनाको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ।

२८ वर्षीया श्रीदेवी बोहोरा, ७ महिने छोरा रहर बोहोरा, ८ वर्षीया छोरी छिता बोहोरा र ११ वर्षीय छोरा मनोज बोहोराको हत्या भएको हो। घाँटी रेटि हत्या गरिएको अवस्थामा शुक्रबार बिहान साढे ९ बजेको समयमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

हत्या भएको खबर पाउने बित्तिकै पिना प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको छ।

प्रहरी नायव उपरीक्षक थापाले दिएको जानकारी अनुसार घटना दुई दिन अगाडि भएको अनुमान गरिएको छ। ८ गते बिहानदेखि ताला लगाएको देखेपछि छिमेकीले शुक्रबार बिहान ९ बजेतिर ढोका खोल्दा चारै जनाको विभत्स रुपले हत्या भएको अवस्थामा गाउँलेहरुले देखेका थिए।

अहिले प्रहरीले घटनास्थललाई घेरा हालि अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ। आवश्यक प्रक्रिया सकेपछि पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लैजाने प्रहरीले जानकारी दिएको छ।

हत्या गरिएकी महिलाले लगाएको गहनासमेत निकालिएकोले धनमाल समेत चोरी भएको हुनसक्ने प्रहरीले जनाएको छ।

हत्या गरिएकी महिलाका पति एक वर्षदेखि वैदेशिक रोजगारमा देश बाहिर छन्।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस