९ कात्तिक, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजालाई गाली गर्नुको साटो राम्रो गरेर देखाउन दलहरुलाई चुनौती दिएका छन् ।
बिहीबार अमेरिका जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले २५० वर्षको इतिहास भएको तत्कालीन राजाले श्रीपेच र राजदण्ड हाँसीहाँसी जिम्मा लगाएर देशमै बसेको स्मरण गराए । त्यसरी बसेका पूर्व राजाले देशको विग्रिदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दा गाली गर्नुको साटो राम्रो काम गरेर देखाउन आग्रह दलहरूलाई चुनौती दिए ।
उनले अघि भने, ‘यो परिर्वतनको सम्वाहक हौं भन्ने दलहरुले राम्रो गरेर देखाउनुपर्यो । अब (पूर्व) राजालाई गाली गरेर सत्तामा टिकिराख्ने, जनतालाई मुर्ख बनाइराख्ने दिन गयो ।’ जनतामा निराशा पैदा भएको भन्दै उनले तिहार र छठ लगतै पार्टीको बैठक बसेर दबावमुलुक कार्यक्रम ल्याउने बताए ।
लिङ्देन पार्टीसम्वद्ध प्रवासी नेपाली एकता समाजको तेस्रो अधिवेशनमा भाग लिन अमेरिका गएका हुन् । नविन राप्रपा कार्ययोजना अन्तरगत संगठन विस्तारलाई तिव्रता दिएको र भूगोल बाहिरको नेपालमा पनि संगठन विस्तार भइरहेको उनले जानकारी दिए । सहमहामन्त्री विजय खड्का, विदेश विभाग प्रमुख आनन्द अधिकारीसहित अमेरिका उडेका राप्रपा अध्यक्ष लिङ्देन २१ गते फर्किने कार्यक्रम छ ।