२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना

Puja at Palanchok Bhagwati Temple by President Paudel

५ कार्तिक, काभ्रेपलाञ्चोक । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँअन्तर्गत महाअष्टमीको अवसरमा आज बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहभागी थिइन्।

राष्ट्रपति पौडेल पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आज बिहान पाँचखाल पुगेका थिए। बडादशैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ।

राष्ट्रपति पौडेललाई मन्दिर आएका दर्शनार्थीले स्वागत गरेका थिए। पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ।

पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार छ सय ५५ वर्ष पहिले अर्थात् सन् ४२५ सालमा निर्माण भएको हो। पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रुपमासमेत लिने गरिन्छ। किंबदन्तीअनुसार नमोबुद्ध नगरपालिकास्थित बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय वृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेका थिए।

सोहीअनुसार भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र लैजान खोज्दा ६० घरधुरीको मद्दतबाट पनि भगवतीको मूर्ति बोक्न नसकेपछि सोही स्थानमा राखी पूजाआजा गर्दैआएको किंबदन्ती रहेको मन्दिरका पुजारी शैलेश्वर बज्राचार्यले बताए।

यस पलाञ्चोक शक्तिपीठमा विशेष गरी दशैँ, माघे–सङ्क्रान्ती र वैशाख पूर्णिमामा भक्तजनको ठूलो भिडभाड हुने गर्दछ। यहाँ भक्तजनको मनोकामना पूरा हुने विश्वास गरिँदै आइएको छ। राष्ट्रपति पौडेललाई जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम, पाँचखालका नगरप्रमुख महेश खरेल तथा उपप्रमुख सूर्यमाया दनुवार, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा स्थानीय जनप्रतिनिधिले पलाञ्चोक भगवती मन्दिर परिसरमा स्वागत गरेका थिए।

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस