२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फूलपाती बढाईको पूर्वसन्ध्यामा सेनाद्वारा चलचित्रकर्मीसहित सेनामा कार्यरत कयौंलाई सम्मान

काठमाडौं । फूलपाती बढाई-२०८० को पूर्वसन्ध्यामा आज मिति २०८० कार्तिक ०२ गते सैनिक मञ्च टुँडिखेलमा विभिन्‍न कार्यक्रमहरुको आयोजना गरिएको छ ।

आजको कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको श्री नं.१ वन तथा पर्यावरण सुरक्षा गण र श्री नं.२ वन तथा पर्यावरण सुरक्षा गणलाई युनिट झण्डा हस्तान्तरण गर्नु भयो । यसै गरी प्रधान सेनापतिले आर्थिक वर्ष २०७९/८० मा युद्ध मद्दती बाहिनी अड्डा अन्तरगतका युनिटहरूमा सञ्चालन भएको युद्धकार्य तथा पेसागत निरीक्षणमा उत्कृष्ट भएका (श्री नं.२ राजदल गण, श्री काली प्रसाद गण (ईन्जिनियर्स), श्री गणेशदल गण, श्री भद्रदल गण, श्री भैरवनाथ गण र श्री नं.१ युद्धकवच गुल्म) युनिटहरुलाई पुरस्कार तथा कदर पत्र प्रदान गर्नु भयो ।

सोही अवसरमा प्रधान सेनापतिले नेपाली सेनालाई संस्थागत योगदान दिनुहुने चलचित्रकर्मी तथा संगितकार सन्तोष सेन र एलिस कार्कीलाई प्रधान सेनापति प्रशंसा निशानबाट सुशोभित गर्नु भयो । प्रधान सेनापतिले प्रकृति संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाली सेनाका ३ हजार ३० जना मध्ये आजको समारोहमा उपस्थित १७ जनालाई प्रकृति संरक्षण पदकबाट सुशोभित गर्नु भयो । साथै, नेपाली सेनामा कार्यरत रही विशिष्ट योगदान पुर्‍याउने पदिकहरु ५६ जना मध्ये काठमाडौँ उपत्यका भित्र कार्यरत २२ जना पदिकहरुलाई मानार्थ उप सेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो ।

यस अघि जङ्गी अड्डामा आजै सम्पन्न एक कार्यक्रमका बिच प्रधान सेनापतिले महासेनानीबाट सहायक रथीमा बढुवा हुनु भएका २ जना र प्रमुख सेनानीबाट महासेनानीमा बढुवा हुनु भएका ४ जनालाई दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो । सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द एवं सकलदर्जाका साथै परिवारजन र सर्वसाधारणको उपस्थिति थियो ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस