२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष खेपे : प्रधानमन्त्री प्रचण्ड

Once Nepali Forever Nepali Campaign was worthwhile

३० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको बताएका छन् । गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण कार्यक्रमलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

नेपालको संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था भए पनि कानूनी व्यवस्था गर्न निकै ठूलो संघर्ष गर्नुपरेको स्मरण गर्दै उनले भने, ‘पचासौं लाख गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ र यो निकै ठूलो उपलब्धि हो ।’

उनले अगाडि भने, ‘नेपालको संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गर्न हामीले निकै ठूलो मिहिनेत गर्नुपरेको थियो । त्यसकै बलमा तपाईंहरुले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ । संविधानमा व्यवस्था भएपश्चात पनि कानुनी व्यवस्था गर्न फेरि अर्को ठूलै मिहिनेत र संघर्षै गर्नुपर्यो । निकै ठूलो संघर्ष र मिहिनेतपछि हामीले सफलता हासिल गरेका छौं ।’

आफू प्रधानमन्त्री भएलगत्तै राष्ट्रपतिबाट नागरिकता विधेयक जारी भएको र त्यससम्बन्धी नियमावली बनेर एनआरएनले नागरिकता पाउने बाटो खुलेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यो उपलब्धि कसको संघर्ष र सफलताबाट प्राप्त भयो भन्ने कुरा सबै गैरआवासीय नेपालीलाई बुझाउन एनआरएन नेतृत्वलाई आग्रहसमेत गरे ।

आज नागरिकता पाएका एनआरएन अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीको नाम लिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई विश्वास छ– विदेशमा रहनुभएका लाखौं गैरआवासीय नेपालीहरूले यो नागरिकता कसको संघर्ष र पहलबाट प्राप्त भयो भन्ने तथ्य राम्रोसँग बुझ्नुभएको छ । सबै साथीहरू र सम्पूर्ण नेपाली जनसमुदायलाई पनि त्यसरी नै बुझाउनु हुनेछ ।’

गैरआवासीय नेपालीसँग सम्बधित थुप्रै सवालहरूलाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको, नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा ५ करोड रुपैयाँबाट घटाएर २ करोड कायम गरेको, धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाएको र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत् योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गरेर सरकारले ऐतिहासिक काम गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षामा अहिलेसम्म तीन लाखभन्दा बढी श्रमिक साथीहरू आबद्ध भइसकेको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यसमा संस्थागत रूपमा सहयोग गर्न एनआरएनलाई आग्रह गरे । संसारभरि रहेका नेपालका गैरआवासीय दूतहरूबाट नेपालले धेरै अपेक्षा गरेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले एनआरएनहरुले देखाएको एकता र सहकार्य आगामी दिनमा पनि कायम रहोस् भन्ने कामना गर्दै गैरआवासीय नेपाली संघको राष्ट्रिय महाधिवेशनले एकताबद्ध संघ र बलियो नेतृत्व छनोट गर्ने विश्वाससमेत व्यक्त गरे ।

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस