३० असोज, काठमाडौं । इजरायलमा जारी द्वन्द्वका कारण घर फर्किन चाहनेमध्येका १८ जना नेपाली भारतीय उद्धार विमानमार्फत नेपाल आउने भएका छन् । भारतले आफ्ना नागरिकको उद्धारका लागि सुरु गरेको ‘अपरेशन अजय’ अन्तर्गतको विशेष विमानमा उनीहरू मंगलबार भारत आइपुगेका छन् ।
भारतीय विदेश मन्त्री एस जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत यस विषयमा जानकारी दिएका छन् । ‘अपरेशन अजय अगाडि बढ्दैछ । थप २८६ यात्रु भारत फर्किँदै छन्, जसमा १८ जना नेपाली नागरिक पनि रहेका छन्’, उनले लेखेका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले फर्किन चाहने १८ नेपालीलाई भारतको उद्धार विमानमा पठाएको बताइन् ।
‘हामीले १२ अक्टोबरमा नेपाल एयरलाइन्समा २५४ जना नेपाली नागरिकलाई पठाएका थियौं । बाँकी रहेका नेपालीलाई लैजानका लागि थप उडानको व्यवस्था गर्ने भनेका छौं, उनले भनिन्, ‘तुलनात्मक हिसाबले असुरक्षित स्थानमा रहेकालाई तत्काल पठाउनुपरेकाले उनीहरूलाई पठाइएको हो ।’