२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायलमा श्रम स्वीकृति बन्द

Labor permit closure in Israel

२८ असोज, काठमाडौं । ९ दिन अगाडि हमासले आकस्मिक रुपमा इजरायलमाथि गरेको आक्रमणको प्रत्याक्रमणस्वरुप इजरायलको तर्फबाट भीषण बमबारी जारी छ । यसअघि हवाई हमलामा केन्द्रित इजरायल स्थल क्षेत्रबाटै हमलामा जुटेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएको छ । बढ्दो जोखिमका बीच नेपाल सरकारले इजरायलमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम बन्द गरेको छ । यससँगै वैदेशिक रोजगारीका लागि नेपालीबीच आकर्षक एक गन्तव्य इजरायल तत्कालका लागि बन्द भएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालका अनुसार इजरायलका लागि श्रम स्वीकृति दिने काम अनिश्चितकालका लागि बन्द भएको छ । साथमा यसअघि नै श्रम स्वीकृति लिइसकेका र उडानको मिति निश्चित भइसकेकाको हकमा समेत यात्रा रोकिएको छ । यस्तै अध्यागमन विभागले ट्राभल एडभाइजरी जारी गर्दै विभिन्न प्रयोजनमा इजरायल प्रस्थान गर्ने तयारीमा रहेका सबै नेपाली नागरिकलाई इजरायल भ्रमणको योजना स्थगित गर्न आग्रह गरेको छ । जारी द्वन्द्वमा परी नेपाली नागरिकले समेत ज्यान गुमाउनु परेको भन्दै विभागले यस्तो एडभाइजरी जारी गरेको हो ।

वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये ८८ प्रतिशत नेपाली मलेसिया र खाडी मुलुकमा रहेको अनुमान छ । यसमध्ये सबैभन्दा आकर्षक आम्दानी हुने मुलुक इजरायल हो । वैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार मध्यपूर्वी मुलुकमध्ये इजरायल जानेले सबैभन्दा राम्रो आम्दानी गरिरहेका छन् । यो युद्धका कारण तत्कालका लागि आकर्षक रोजगारीको गन्तव्य बन्द हुँदा वैदेशिक रोजगारीमा ठूलो असर पर्ने उनी बताउँछन् ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर १ हजार ८४ जना नेपाली इजरायल गएका थिए । जसमध्ये ७८५ जना महिला हुन् । विभागका महानिर्देशक दाहालका अनुसार अहिले इजरायलमा ५ हजार हाराहारी नेपाली वैदेशिक रोजगारीमा रहेको अनुमान छ । वैदेशिक रोजगारीमा जानेको तथ्यांक राख्ने तर, फर्किनेको तथ्यांक नराख्ने परिपाटीका कारण कुन मुलुकमा ठ्याक्कै कति नेपाली छन् भन्ने तथ्यांक भने नरहेको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस