२५ असोज, काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले इरानमाथी शानदार जित दर्ता गराएको छ । सुरुमा ब्याटिङ गरेको नेपालले इरानलाई ३५४ रनको विशाल लक्ष्य दिएको थियो । त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको इरानलाई नेपालले ३०.५ ओभरमा नै अलआउट गरायो । इरानले मात्र ७९ रन जोड्न सफल भयो ।
समूह बी मा रहेको नेपाल र इरानबीचको खेल युएसडी युकेएम ओभलमा स्थानीय समय अनुसार बिहान साढे ९ बजे (नेपाली समय बिहान सवा ७ बजे) बाट भएको थियो । खेलमा नेपालका देव खनालले शतक पूरा गरे । अरुलेपनि उत्कृष्ट अंक जोड्दै नेपालका लागि विशाल स्कोर खडा गरे ।
आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपालले पहिलो खेलमा तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाएको छ । नेपालले समूह चरणमा इरानसँगै बहराइन र साउदी अरेबियासँग खेल्नेछ । १६ टोली सहभागि एसीसी यू–१९ प्रिमियर कपबाट शीर्ष तीन टोली मात्र यू-१९ एसिया कपमा छनोट हुनेछन् । जहाँ एसियाका टेष्ट खेल्ने पाँच राष्ट्रको यू–१९ टोलीले सीधै स्थान पक्का गरिसकेका छन् ।
हरेक समूहको विजेता सेमिफाइनल पुग्ने भएकोले नेपालको पहिलो लक्ष्य समूहको तीनवटै खेल जितेर सेमिफाइनल पुग्ने र त्यसपछि फाइनल जित्दै च्याम्पियन भएर यू-१९ एसिया कपमा पुग्ने छ । त्यसका लागि नेपालले अन्य समूहमा रहेका युएई, हङकङ, मलेसिया, सिंगापुर जस्ता टिमसँग खेल्नुपर्ने हुन सक्छ । नेपालले दोस्रो खेल बहराइनसँग १५ अक्टोबर र तेस्रो खेल साउदीसँग १९ अक्टोबरमा खेल्नेछ ।