२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सालोम क्लबद्वारा इजरायलमा ज्यान गुमाउने नेपालीको सम्झनामा बौद्धनाथ स्तुपामा दीप प्रज्वलन

काठमाडौं । सालोम क्लब नेपालले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्युवरण गरेका नेपाली विद्यार्थीहरूको सम्झनामा गहिरो दुःख व्यक्त गर्दै दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्यो ।

हमासको भयानक आक्रमणमा परी सयौँ इजरायली लगायत केही नेपाली विद्यार्थीहरूले ज्यान गुमाएका थिए । दीप प्रज्वलन कार्यक्रम साँझ काठमाडौँको बौद्धमा अवस्थित बौद्धनाथ स्तुपा क्षेत्रमा आयोजना गरिएको हो । ठूलो सङ्ख्यामा उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालमा रहेका इजरायलका शैक्षिक प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको पनि सहभागिता थियो ।

उक्त कार्यक्रममा आयोजक संस्था सालोम क्लब नेपालका कार्यवाहक प्रमुख कपिलदेव रेग्मीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै गहिरो दुःखमा परेका मृतकका आफन्त तथा परिवारजनमा हार्दिक समवेदना व्यक्त गरे । उनले यस दुःखद परिस्थितिमा इजरायल र इजरायली जनताप्रति आफ्नो भावनात्मक साथ र समर्थन रहेको कुरा व्यक्त गरे ।

यस घटनालाई इतिहासकै एक दुःखद अध्यायको रूपमा चर्चा गर्दै उनले इजरायली जनता र नेपाली समुदायमा यसले कहिल्यै नमेटिने दुःखद छाप छोडेको र भविष्यमा यस्ता खालका घटना दोहोरिन नहुने विचार व्यक्त गरे । उनले समग्र नेपाली जनतासँगै आफू पनि सदैव यस्ता आतङ्ककारी हमलाको विपक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे । दीप प्रज्वलन कार्यक्रमले दुःखद घडीमा सबैलाई एकजुट भएर धैर्यधारण गर्न , विपत्तिको सामना गर्न तथा सद्भावको विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस