काठमाडौं । १३औँ संस्करणको आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज आयोजक भारत र अफगानिस्तान खेल्दै छन् । यी दुई टिमबीचको खेल दिउँसो २ः१५ देखि हैदराबादमा सुरु हुनेछ । भारत लगातार दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । भारत अफगानिस्तानविरुद्ध पनि जित निकाल्दै आफ्नो लय कायमै राख्न चाहन्छ ।
अफगानिस्तान भने पहिलो जितको खोजीमा छ । उसले पहिलो खेलमा बंगलादेशसँग ६ विकेटको हार बेहोरेको थियो । हालसम्म भारत र अफगानिस्तानले एकदिवसीयमा तीन खेलमा मात्र एकअर्काको सामना गरेका छन् । जसमा भारतले दुई खेल जितेको छ । यी दुई टिमबीचको एक खेल भने बराबरीमा सकिएको छ ।
सन् २०१८ को एसिया कपमा भएको खेलमा भारत र अफगानिस्तानबीचको खेल टाइ भएको थियो । सो खेलमा अफगानिस्तानले दिएको २५३ रनको लक्ष्य पछ्याएको भारत ४९.५ ओभरमा २५२ रनमा अलआउट भएको थियो । अफगानिस्तान आज भारतलाई घरमै हराउँदै इतिहास रच्ने दाउमा छ ।
भारतको सम्भावित प्लेइङ–११ : रोहित शर्मा (कप्तान), इशान किशन, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, रविचन्द्रन आश्विन, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराज ।
अफगानिस्तानको सम्भावित प्लेइङ–११ : रहमानुल्लाह गुरबाज (विकेटकिपर), इब्राहिम जद्रान, रहमत शाह, हसमतुल्लाह शाहिदी (कप्तान), मोहम्मद नाबी, नजिबुल्लाह जद्रान, अजमातुल्लाह ओमरजाई, राशिद खान, नवीन उल हक, मुजीब उर रहमान र फजलहक फारुकी ।