२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायलबाट फर्किन ३५० नेपालीले दिए आवेदन, संख्या पुग्नासाथ पठाउने भनेको सरकारको जहाज अनिश्चित

350 Nepalis applied to return from Israel

बुटवल, २४ असोज । युद्धग्रस्त इजरायलबाट स्वदेश फर्किन मंगलबार बेलुकासम्म ३५० जना नेपालीले आवेदन दिएका छन्। इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीको आवेदन अनलाइनबाट लिइरहेको छ। परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँगको टेलिफोन वार्तामा स्वदेश फर्किन चाहने नेपालीको उद्धारको विषयमा कुराकानी गरेका थिए। सोहीअनुसार दूतावासमा स्वदेश फिर्ता हुन चाहने नेपालीले आवेदन दिएका हुन्।

‍टेलिफोन संवादमा आतंककारी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको शव ल्याउनेबारे पनि छलफल भएको थियो। यद्यपि छलफल भए पनि शव ल्याउन पनि केही दिन लाग्ने भएको छ। इजरायल सरकारले नेपाल सरकारलाई जहाज पठाउन अनुमति दिएको छैन । बारम्बारको आग्रहमापनि इजरायल सरकारले नेपाली जहाज इजरायल आउने अनुमति दिएको छैन, यसले उद्धार कार्य अनिश्चित बनेको छ ।

इजरायली पक्षले केही प्रक्रिया पूरा गरेपछि मात्र शव फिर्ता हुने जनाएको छ। सरकारले इजरायलबाट नेपालीको उद्धारका लागि जहाज तयारी अवस्थामा राखे पनि उताबाट अवतरणको अनुमति प्राप्त भएको छैन। दूतावासले ‍इजरायल गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका ५५ जना नेपाली विद्यार्थीहरूलाई इजरायली सुरक्षामा सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जनाएको छ।

सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीहरूलाई पनि सुरक्षित ठाउँमा सारिएको छ। हमास समूहको आक्रमणबाट घाइते भएका चारजनाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको दूतावासले जनाएको छ। यस्तै, हराइरहेका एक जना नेपाली विद्यार्थीको खोजीकार्य भइरहेको छ। इजरायलवासी सम्पूर्ण नेपाली नागरिकरूलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न पनि दूतावासले अनुरोध गरेको छ।

 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस