२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायलको संगीत महोत्सवमा शवको थुप्रो, हमासका सैन्य प्रमुख नै मारिएको दावी

इजरायल । इजरायलको म्युजिक फेस्टिभलमा शवको थुप्रो देखिएको छ । घटनास्थलबाट २६० जनाको शव फेला परेको छ । गाजा नजिकैको दक्षिणी इजरायलको किबुट्ज रीम नजिकको नेचर पार्टीमा हजारौं युवाहरु उत्सव मनाउन आएका थिए । उक्त स्थानमा हमासका बन्दुकधारीले गोली चलाएको छ । यसपछि इजरायली मिडियाले नेचर पार्टीबाट मात्र २६० शव निकालिएको बताएको छ ।

चरमपन्थी समूह हमासका मानिसहरूले शनिबार इजरायलमा अचानक आक्रमण सुरु गरेका थिए। यस क्रममा उनीहरुले पहिले नेचर पार्टीमा सहभागी व्यक्तिहरुलाई निशाना बनाएर घटनास्थलबाट भाग्न खोजेकाहरुलाई गोली हानेका थिए । हमासले शनिबार पनि इजरायलमा करिब ५ हजार रकेट प्रहार गरेको थियो ।

मृत्यु हुनेको संख्या बढ्न सक्छ
इजरायली उद्धार सेवा जाकाले गाजा पट्टी नजिकै रातभर चलेको संगीत महोत्सवबाट करिब २६० शव निकालेको खुलाएको छ । इजरायली सुरक्षाकर्मीहरुको अफिसियल जानकारीमापनि शनिबार प्यालेस्टाइनमा हमास लडाकुहरूले गरेको आक्रमणमा हजारौंको ज्यान गएको बताइएको छ । अन्य प्यारामेडिक टोलीहरू यस क्षेत्रमा काम गरिरहेकाले कुल संख्या बढी हुने अपेक्षा गरिएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले हमासका करिब १,००० लडाकुहरूले सामूहिक आक्रमणमा भाग लिएको दाबी गरेका छन्। इजरायली सरकारले आइतवार औपचारिक रूपमा युद्धको घोषणा गर्‍यो र हमासको आक्रमणलाई जवाफ दिन महत्त्वपूर्ण सैन्य कदम अघि बढायो । इजरायली सेनाले दक्षिणी शहरहरूमा अझै पनि लडाकुहरूलाई कुचल्ने प्रयास गरिरहेको छ । गाजा पट्टीमा बमबारीलाई तीव्र पारिरहेको छ । मृत्यु हुनेको संख्या १,१०० नाघेको छ र दुबै पक्षका हजारौं मानिस घाइते भएका छन्।

इजरायल–हमास युद्ध सम्बन्धित नवीनतम जानकारी

गाजाका स्वास्थ्य अधिकारीहरूले गाजा पट्टीमा मृत्यु हुने सर्वसाधारणको संख्या ४९३ पुगेको बताएका छन् । उनीहरुका अनुसार २ हजार ७५० भन्दा बढी घाइते भएका छन् ।

संयुक्त राष्ट्रको मानवीय राहत एजेन्सीका अनुसार इजरायली हवाई आक्रमणमा नागरिकका घरहरू र अपार्टमेन्टहरू गोलाबारीहरू ध्वस्त भएको बताएको छ । गाजामा लगभग साढे एक लाख प्यालेस्टिनीहरू विस्थापित भएका छन्। हमासको सैन्य शाखा अल–नासेर सलाह अल–दिन ब्रिगेडका कमाण्डर–इन–चीफ राफत अबु हिलाल अबु अल–अब्द नै मारिएको दावी गरिएको छ । इजरायली हवाई आक्रमणको क्रममा गाजाको रफाहमा रहेको एउटा घरमा भएको बम आक्रमणमा उनको मृत्यु भएको थियो ।

इजरायलको अपरेशन स्वर्ड्स अफ आइरनमा हालसम्म ७०० भन्दा बढी इजरायली नागरिकको मृत्यु भइसकेको छ । २ हजार १५० जना घाइते भएका छन् । यस अवधिमा इजरायलले हमासका ६५३ स्थानलाई निशाना बनाएको छ ।

 

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस