धनगढी । आइतबार साँझतिर एकाएक इजरायलमा भएको आक्रमणमा मृत्यु भएकाहरुको सूची सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती हुन थाल्यो । मृतकको सूचीमा कैलालीका दुई जना विद्यार्थीको नाम पनि थियो । मृत्यु हुने १० जनामध्येको विवरणमा थियो, घोडाघोडी नगरपालिका–४ जनकपुरका नारायणप्रसाद न्यौपाने र बर्दगोरिया गाउँपालिका–३ का आशिष चौधरीको । घोडाघोडी नगरपालिकाको सुख्खड बजारदेखि ६–७ किलोमिटर भित्र जनकपुरमा हरिकृष्ण न्यौपानेको बसाइँ छ । साधारण किसान परिवारका उनै हरिकृष्णका माइला छोरा हुन् नारायण । बाल्यकालमै जन्मदिने आमा गुमाएका नारायणलाई कान्छी आमाले कर्म दिइन्, हुर्काइन्, बढाइन्, पढाइन् ।
आइतबार साँझ आगोको झिल्कोसरी मृत्यु हुनेहरुको विवरण सामाजिक सञ्चालमा फैलिरहँदा आमा बाबुलाई कुनै सुइँको थिएन । घरको इन्टरनेटमा पैसा सकिएकाले वाईफाई नचले चार दिन भएको थियो । इजरायलमा रहेका छोरासँग कुराकानी नभएपनि छोरा घटनामा परेको कुनै शंका थिएन उनीहरुमा । न त इजरायलमा आक्रमण भएर युद्ध भइरहेको नै उनीहरुलाई थाहा थियो ।
कालिकोटबाट बसाइँ सरेर आएका न्यौपानेहरुको घोडाघोडीको जनकपुरमा बाक्लै संख्यामा बसोबास छ । नारायणका आमाबाबुले थाहा नपाए पनि गाउँलेहरुकाबीच भने नारायणको मृत्युको खबर फैलिसकेको थियो । तर उनको घरमा भन्ने हिम्मत भने कसैले गर्न सकेका थिएनन् । तर पनि आफन्त परिवारहरुले धेरैबेर खबर लुकाएर पनि राख्न सक्ने कुरा भएन । नारायणका दाजु नाता पर्ने मोतीलाल न्यौपानेलगायत अन्य दाजुभाइहरु झमक्क रात छिप्पिँदै गर्दा एकपछि अर्को गर्दै हरिकृष्णको घरमा जम्मा हुन थाले । ‘तर धेरै बेरसम्म आमाबाबुलाई कसैले पनि नारायण पनि घटनामा परेको सुनाउने हिम्मत गरेनौं,’ मोतीलालले भने ‘पछि पछि हाम्रा सबै परिवार जम्मा हुँदै गए, अनि बिस्तारै कुरा खोल्यौं ।’
आमाबाबुले घटनामा आफ्नो छोरा पनि परेको पत्याएनन् । उनीहरुलाई छोराको मृत्युको खबर साँचो नहोला भन्ने लागिरह्यो । ‘तर पनि मन न हो, सबैले भनेपछि बल्ल आमाबाबु झस्किएर रुन कराउन थाले,’ मोतीलालले भने, ‘पछि उनीहरुले पनि इजरायलमा रहेका बेला नारायणलाई चिन्ने उनका साथीलाई सम्पर्क गरे । त्यताबाट पनि त्यस्तै त्यस्तै खबर आयो । अहिले त घरमा असाध्यै पीडा छ, गाउँ पूरै शोकमा डुबेको छ ।’
नारायण टीकापुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा स्नातक अध्ययन गर्न थालेको तीन वर्ष भयो । हरिकृष्णका तीन छोरामध्ये नारायण माइला हुन् । नारायणका जेठा दाजु परिवारसहित भारतको बंग्लोरमा छन् । कान्छो भाइ सानै उमेरका छन् । उनी सुरुदेखि नै पढाइमा तेज थिए । घरपरिवारले अब लास भएपनि चाँडोभन्दा चाँडो ल्याउन पहल भइदिए हुन्थ्यो भन्ने अपेक्षा परिवारहरुले गरिरहेको मोतीलालले बताए ।