२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायलमा छाेरा गुमाएपछि आमा अर्धचेत, शोकमा डुब्यो पुरै गाउँ

सल्यान । हमास समूहले इजरायलमा गरेको आक्रमणमा हालसम्म १० जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । मृत्यु हुनेहरूमा सल्यानका एक जना पनि छन् भने एक जना घाइते भएका छन् । साथै, अर्का एक जना भने सुरक्षित रहेको बुझिएको छ । आक्रमणमा सल्यानको शारदा नगरपालिका–३ सिरुवार घर भएका २४ वर्षीय प्रवेश भण्डारीको मृत्यु भएको हो । यस्तै शारदा नगरपालिका–२ बस्ने विधान सेजवाल घाइते भएका छन् ।

प्रवेश भण्डारी र विधान सेजवालसहित ४९ जना सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान संकायको बीएससीएजी सकेर प्रयोगात्मक अभ्यासको लागि इजरायल गएका थिए । घरबाट भदौ २० गते निस्केका प्रवेश २५ गते साथीहरुसँगै इजरायल उडेका थिए । मृतक प्रवेश चक्रबहादुर भण्डारी र चन्द्रिका भण्डारीको एक्ला छोरा थिए । पढाइमा तिक्ष्ण उनले सबै अध्ययन छात्रवृत्तिमै गर्दै आएका थिए । नेपाली राजदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार उक्त आक्रमणमा सल्यानको त्रिवेणी गाउँपालिका–१ का प्रमोद केसी परेका थिए । तर, उनी भने सुरक्षित रहेका छन् ।

शोकमा डुब्यो गाउँ

अध्ययनको सिलसिलामा इजरायल पुगेका प्रवेशको आक्रमणमा परेर मृत्यु भएपछि घर परिवार मात्र नभई पूरै गाउँ नै शोकमा परेको छ । छोराको मृत्युको खबरले आमा अर्धचेत छिन् भने बाबु मुस्किलले बोल्न सक्ने अवस्थामा छन् । अहिले उनका घरमा भेटघाट गर्न जाने र सान्त्वना दिनेहरूको भिड लागेको छ । कलिलो एक्लो छोरा गुमाएका चक्रबहादुरलाई कसैसँग पनि बोल्न मन छैन । ‘यस्तो पीडा कसैले भोग्न नपरोस्,’ भेट्न आउनेलाई उनी यति भन्न छुटाउँदैनन् ।

चाडबाड नजिकिँदै गरेको समयमा पढ्न र कमाउन विदेश गएको छोराले अनाहक ज्यान गुमाएपछि घरकालाई मात्रै नभएर छरछिमेक र आफन्त सबैलाई शोक परेको स्थानीय नरबहादुर बिष्टले बताए । ‘पढ्न गएका युवाको आक्रमणमा परेर मृत्यु भएको खबरले गाउँका कसैलाई खान मन लागेको छैन । चाडबाडनजिक छ । त्यसले मन झनै अमिलो बनाएको छ,’ उनले भने ।

मृत्यु भएको खबर सुनेर आइतबार र सोमबार मृतकको घरमा पुगेका छिमेकी ध्रुवराज विष्टले घटना दुःखद भएको र अहिले पनि पत्याउनै कठिन भइरहेको बताए । ‘मान्छे जन्मेपछि मृत्यु निश्चित छ । तर, पढ्न गएको एक्लो छोरोको मृत्यु भएकोमा वृद्ध आमा–बालाई कसरी सम्झाउनु ? गाह्रो हुने रहेछ,’ उनले भने । आँखा ओसिलो पारेर बसेका मृतकका बाबु चक्रबहादुर भण्डारीले आफ्नो छोराको शवलाई जतिसक्यो छिटो ल्याइदिन आग्रह गरेका छन् । ‘‘बा–आमा तपाईंले मेरो लागी कुनै चिन्ता लिनु पर्दैन । म पढाइ सकेर केही महिनामै फर्कन्छु र जागिर खाएर तपाईंहरुलाई राम्रो घर बनाएर राख्छु । कत्ति आत्तिनु पर्दैन’ भनेर भदौ २० गते घर छोडेको थियो,’ उनले भने । उनका अनुसार उता पुगेपछि पनि प्रत्येक दिन जसो प्रवेशसँग फोनमा कुराकानी हुने गर्थ्यो । ‘घरबाट गएको अहिले जस्तै लाग्छ । अब कसले फोन गर्ला ?’ आँखाभरि आँसु पार्दै उनले भने, ‘बा–आमाको सपना छिट्टै पूरा गर्छु भन्थ्यो । अब कसले भन्ला ?’

इजरायल गएदेखि लगातार १९ गतेसम्म छोरासँग कुराकानी भएको र २० गते लामो समय फोन गर्दा सम्पर्कमा आउन नसकेको उनले बताए । छोराले फोन नउठाएपछि २१ गते छोराको आक्रमणमा परी मृत्यु भएको भन्ने खबर पाएको उनले बताए । जतिसक्यो छिटो छोराको शव ल्याइदिन उनले आग्रह गरे । परराष्ट्र मन्त्रालयले अलपत्र परेका नेपालीलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्न सम्पर्क व्यक्तिहरू तोकी विवरण सार्वजनिक गरेको छ । मन्त्रालयका दुई सहसचिव, एक उपसचिव, एक शाखा अधिकृत, राजदूत कान्ता रिजाल (९७२५४५८६४४२३) र प्रथम सचिव अर्जुन घिमिरे (९७२५२८२८९३००) मा सम्पर्क गर्न अपिल गरिएको छ ।

 

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस