२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एसियाली खेलमा १ हजार २०८ पदकको छिनोफानो, नेपाललाई एउटा कास्य

Nepal in Asiad

काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म १ हजार २०८ पदकको छिनोफानो भएको छ। बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५ राष्ट्रमध्ये हालसम्म ३८ राष्ट्रले पदक प्राप्त गर्न सफल भएका छन्। हालसम्म चीन १७२ स्वर्ण, ९५ रजत र ५२ कास्यसहित ३१९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा कायमै रहेको छ। यस्तै जापान ३७ स्वर्ण, ५१ रजत र ५९ कास्यका साथ १४७ पदक प्राप्त गर्दै दोस्रो स्थानमा छ । दक्षिण कोरिया ३३ स्वर्ण, ४५ रजत, ७० कास्यसहित १४८ पदकका साथ पदक तालिकाको तेस्रो स्थानमा रहेको छ। भारत १८ स्वर्ण, ३१ रजत र ३२ कास्यसहित ८१ पदकका साथ चौथो स्थानमा छ। उज्वेकिस्तान १६ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५४ पदकका साथ पाँचौँ स्थानमा छ।

यसैगरी चाइनिज ताइपेई १३ स्वर्ण, १४ रजत र २१ कास्यसहित ४८ पदक प्राप्त गर्दै छैटौँ, थाइल्याण्ड १० स्वर्ण, १२ रजत र २४ कास्यसहित ४६ पदकका साथ सातौँ, बहराइन १० स्वर्ण, १ रजत र ५ कास्यसहित १६ पदकका साथ आठौँ, उत्तर कोरिया ९ स्वर्ण, १२ रजत र ८ कास्यसहित २९ पदकका साथ नवौँ तथा हङकङ चाइना ७ स्वर्ण, १५ रजत र २८ कास्यसहित कुल ५० पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन्।

नेपाल पदकविहीनबाट जोगियो
१९औँ एसियाली खेलकुदमा नेपाल पदकविहीन हुनबाट जोगिएको छ। महिला कबड्डीतर्फ नेपालले पदक पक्का गरेको हो। चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५४–१६ अङ्कले पराजित गरेसँगै नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो। सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक प्राप्त गर्ने टुङ्गो लागेको हो। कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ।

महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो। नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्गलादेश रहेका थिए। इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले पहिलो खेलमा सोमबार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलबार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो। महिला कबड्डीतर्फ समूह ‘ए’मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन्। नेपालले अब समूह ‘ए’को विजेता टोलीसित सेमिफाइनल खेल्ने छ।

 

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस