२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोरोना खोप विकासमा संलग्न वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार

काठमाडौँ । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न वैज्ञानिकलाई प्रदान गरिएको छ । कोरोना भाइरसविरुद्धको खोप बनाउन प्रविधिको विकास गरेबापत अमेरिकी वैज्ञानिकद्वय डा. क्याटलिन कारिको र डा. ड्रु वेसमानलाई संयुक्त रूपमा यस वर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको हो । सन् २०१९ मा कोरोना सुरु भए पनि यी वैज्ञानिक एमआरएनए खोप विकासका लागि त्यसअघिदेखि नै अनुसन्धानमा खटिएका थिए । एमआरएन प्रविधि क्यान्सरसहित अन्य रोगविरुद्धको खोप विकासमा लागि समेत भइरहेका अनुसन्धानमा प्रयोग भएको छ ।

कोरोनाविरुद्धको खोपले लाखौँ मानिसको ज्यान जोगाउन सफल भएको समेत नोबेल कमिटीले जनाएको छ । ‘आधुनिक समयमा मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो संकटका दौरान पुरस्कार विजेताले अभूतपूर्व रूपमा खोप विकासमा योगदान दिएका छन्,’ नोबेल पुरस्कार कमिटीले भनेको छ । कोरोना महामारीका बेला मोडर्ना, फाइजर/बायोएनटेकलगायतका कम्पनीले एमआरएनए प्रविधिमा आधारित खोप बनाएका थिए । सोमबार एक कार्यक्रमका बीच स्विडिस एकेडेमीले चिकित्सातर्फको नोबेल पुरस्कार विजेता घोषणा गरेको हो । विजेतालाई स्वर्ण पदक र संयुक्त रुपमा १ करोड १० लाख स्विडिस क्रोनर(१० लाख अमेरिकी डलर) दिइनेछ ।

गत वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकासक्रमसम्बन्धी अनुसन्धानमा संलग्न स्विडेनका वैज्ञानिक स्वान्टे पाबोलाई दिइएको थियो । चिकित्सा विज्ञानतर्फ पहिलो नोबेल पुरस्कार सन् १९०१ मा इमिल भोन बेहरिङले पाएका थिए । ‘सिरम थेरापी’ विकास गरेका कारण उनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिइएको थियो । त्यस्तै चिकित्सा विज्ञानका लागि कम उमेरमा नोबेल पुरस्कार पाउने व्यक्ति फ्रेडरिक ब्यान्टिङ हुन् ।

उनले सन् १९२३ मा जोन जेम्स रिकार्ड म्याकलिओडसँगै चिकित्सा विज्ञानका लागि नोबेल पुरस्कार पाएका थिए । नोबेल पुरस्कार पाउँदा उनी ३२ वर्षका थिए । उनले इन्सुलिनको आविष्कार गरेका थिए । यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार अक्टोबर ३, रसायनशास्त्रतर्फको अक्टोबर ४, साहित्यतर्फ अक्टोबर ५, शान्तिका लागि अक्टोबर ६ र अर्थशास्त्रका लागि अक्टोबर ९ मा विजेता घोषणा गरिनेछ ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस