२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मनसुन लम्बियो : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

काठमाडौँ, असोज १५ गते । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विश्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपालि मनसुन केही दिन लम्बिएको बताउनुभयो । उहाँले अझै मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताउनुभयो ।

यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । त्यसैले बदली छ । अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो । “अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्राइहालौँ र काट्ने बेलाको धान छ भने नकाटौँ । दुई/तीन दिन रहने यो प्रणालीले धान बिगार्छ, खुलेपछि मात्रै काटौँ”, उहाँले रासससँग भन्नुभयो ।

उहाँका अनुसार नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ । अहिले नेपालको कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ । भारतको उडिसा, छत्तिसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली छ । आज देशभर जसो नै बादल लाग्ने र धुम्म हुन्छ । घाम लाग्ने सम्भावना कम छ । साँझपख कतिपय ठाउँमा वर्षा पनि हुने उहाँले बताउनुभयो । जल तथा मौसम विज्ञान विभागले दुई वर्ष अघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय आज अक्टोबर २ लाई अनुमान गरेको थियो । त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो । हरेक १० वर्षको विश्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ । पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिइरहेको छ । मनसुन भित्रिन पनि ढिला गरिरहेको छ । यही साल पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको छ ।

यो वर्ष नेपालमा जुन १४ अर्थात् जेठ ३१ मा मनसुन भित्रिएको थियो । तर त्यसको नौ दिनपछि मात्रै असार ८ गते मनसुन देशैभरि फैलिएको थियो । सुरुमा कोसी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशका अधिकांश भू–भागमा मनसुन आगमन भएको थियो । यसपालि मनसुनको शुरुआती समयमै पूर्वी नेपालमा भारी भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठुलो धनजनको क्षति भएको छ ।

यसपालि १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान थियो । मनसुनका समयमा औषतभन्दा कम पानी पर्ने आकलनसमेत गरिएको थियो । औषतभन्दा कम पानी पर्ने अनुमानका बिच केही स्थान केन्द्रित भएर मनसुनी वर्षा हुँदा भने पूर्वी र पश्चिम नेपाललगायत केही स्थानमा भने ठुलो जनधनको क्षति गराएको छ । जल तथा मौसम विज्ञान विभागले विगत १० वर्षको मनसुनी प्रणाली विश्लेषण गरेर केही वर्षअघि निकालेको निष्कर्षका आधारमा सामान्यतः मौसम बाहिरिने दिन आजलाई अनुमान गरेको थियो । रासस

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस