२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

४ जनाको सामूहिक हत्या आरोपीले अरु एक दर्जन मारेको बताएपछि प्रहरीले केलाउन थाल्यो पुरानो फाइल

काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित ४ जनाको सामूहिक हत्याकाण्डका आरोपी २३ वर्षीय सञ्जय भण्डारीले काठमाडौं विगतमा एक दर्जनभन्दा बढीको हत्या गरेपनि प्रहरीले आफूलाई पक्राउ गर्न नसकेको बताएपछि प्रहरीले पुरानो फाइल खोतल्न थालेको छ । जन्मजात बोल्न नसक्ने भण्डारीसँग प्रहरीले बहिरा संघका अधिकारी र दोभाषे अगाडि राखेर सोधपुछ गरिरहेको छ ।

४ जनाको सामूहिक हत्यापछि सीसीटीभी फुटेजका आधारमा पक्राउ परेका उनले एउटा हत्यामा प्रहरीले आफूसँग सोधपुछ गरेपनि ‘बोल्न नसक्ने र कान नसुन्ने भनेर’ छाडिदिएको बयान दिएका छन् । ‘उनले काठमाडौंमा मात्र एक दर्जनभन्दा बढीको हत्या गरेको प्रहरीसामु बताएका छन् । हरेक हत्या कहाँ र कसरी गरेको कहानीसहित भन्छन् । एकपटक भनेको कुरामा पछि फेरि सोध्दा त्यही व्यहोरा हुन्छ’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन् । सञ्जयले यी कुराहरु आत्मविश्वास र बहादुरीसहित भन्ने गरेका छन् ।

‘उनी आफ्ना यी कर्तुतहरू बहादुरीपूर्वक भनिरहेका छन् । उल्टै प्रहरीलाई यति धेरै भनिसक्दा पनि एउटा घटनाको पनि पुष्टि गर्न नसकेको भन्दै हाम्रै खिसिट्युरी गर्छन्’ , ती प्रहरी अधिकृत सुनाउँछन् । सञ्जयले यसअघि अरुको पति हत्या गरेको दाबी गरेपनि उनीहरूको पहिचान प्रहरीले भेउ पाउन सकेको छैन ।

‘आफूलाई रिस उठ्नेवित्तिकै मारेर गाडेर हिँडिदिएँ भन्छन् । कहीँ मारेपछि काटेर ट्वाइलेटमा हालिदिएँ भन्छन् । हरेक घटनामा उनी कहानी बताउँछन् । उनका कतिपय कुरा पत्याउनै नसक्ने छन् । केही पत्याउनुपर्ने आधार पनि देखिन्छन्’, अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । सञ्जयले आफूले हत्या गरेको भनेका ठाउँमा प्रहरीले उनलाई लिएर त्यहाँ पुगेका छ । केही ठाउँ पुग्दा हत्या भएको थियो भन्ने पनि देखिएको पाइएको छ ।

‘समस्या के छ भने यदि उनले मारेको हो भने मारिनेको पहिचान के हो भन्ने खुल्न सकेको छैन । धेरै ठाउँमा उनले शव गाडेर हिँडेको र काटेर फ्याँकेको भनिरहेका छन्’, प्रहरी बताउँछ । काठमाडौं प्रहरीले यतिबेला काठमाडौंमा विगत २–३ वर्षमा हराएको भनेर उजुरी परेका तर नभेटिएकाको विवरण हेरिरहेको छ । ‘तीमध्ये सञ्जले मारेर गायब बनाएका पनि छन् कि भनेर हेर्न लागिएको हो’, काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने । प्रहरी हिरासतमा रहेका सञ्जयलाई ‘यहाँबाट छुटेपछि अब हत्या त नगर्ने होला नी ?’ भनेर दोभाषेले सोधेका थिए । उनले ‘हेर्नुपर्छ’ भन्ने जवाफ फर्काएका छन् ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस