२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले बागमती अधिवेशनः मतदानको समय फेरि सर्‍यो

काठमाडौं, असोज १२ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत आजका लागि तय भएको मतदानको समय फेरि सरेको छ। यसअघि तीन पटकसम्म निर्वाचन कार्यक्रम संसोधन भएकामा आज ८ बजेदेखि चुनाव हुने कार्यतालिका थियो।

तर उम्मेदवारको नामावली र क्लस्टर मिलाउन समय लागेकाले एमालेले पुनः निर्वाचन कार्यक्रम संसोधन गरेको हो। संसोधित निर्वाचन कार्यक्रम अन्तर्गत मतदान आज बिहान साढे ११ बजेदेखि हुने भनिएको छ। तर अझै भएको छैन । भृकुटीमण्डपमा जारी अधिवेशनको ‍मतदान भने पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। मतदान सकिएलगत्तै मगतणना सुरू हुनेछ। मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने कारण आजै मतपरिणाम सार्वजनिक हुनेछ।

२४० सदस्यीय प्रदेश कमिटीको पाँच पदाधिकारीमा मात्रै १८ जनाले उम्मेदवारी दिएका छन्। जसअनुसार नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिष्पर्धा हुने भएको छ। यसअघि पाँच जनाले प्रदेशको अध्यक्षमा उम्मेदवारी दिएका थिए।

अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुंगेलले उम्मेदवारी दिएका थिए। त्यस्तै रामेछापका केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए। सानु श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुडाथोकीले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन्। पाण्डेले ढुंगेललाई र श्रेष्ठ र बुढाथोकीले दाहाललाई समर्थन गर्दै फिर्ता लिएको बताइएको छ।

बागमती प्रदेशमा चुनाव नै हुने भएपछि नेताहरू पनि बाँडिएका छन्। कैलाश ढुंगेललाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य आनन्द पोखरेललगायतको समर्थन छ। त्यस्तै कृष्ण दाहालको पक्षमा पदाधिकारी तहका नेताहरू खुलिसकेका छैनन्। यद्यपि, सुरेन्द्र पाण्डेलगायत नेताहरूको समर्थन देखिएको छ। पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा खुलेरै लागेका छन्।

त्यस्तै उपाध्यक्षमा ईश्वर चन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायण प्रसाद खतिवडा र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन्। एक सचिव पदका लागि नवराज सिलवाल र हस्त बहादुर पण्डित उम्मेदवार छन् भने दुई उपसचिवका लागि ओमराज पन्त (अच्युत), कृष्णहरि थापा, खड्ग बहादुर पुलामी, टासी लामा, डबल पाण्डे, प्रेम बहादुर महर्जन, रमेश महर्जन, राजेन्द्र श्रेष्ठ, भक्त कुमारी लामा र रिता गौतम ढकाल छन्।

एमालेमा प्यानल बनाउन निषेध भए पनि मत आफ्नो पक्षमा पार्न अध्यक्षमा प्रत्यासी दाहाल र ढुंगेलले भित्रभित्रै उपाध्यक्ष, सचिव र उपसचिवमा समर्थन गरेर भोट मागिरहेका छन्। च्यासलमा उम्मेदवारहरूले मत माग्ने, पोष्टर पम्पलेट टाँस्ने र नाराबाजी गर्न थालेपछि निर्वाचन समितिले त्यस्तो गतिविधिमा रोक लगाएको छ। निर्वाचन समितिका तर्फबाट दीपक निरौलाले माइकिङ गर्दै नाराबाजी नगर्न आग्रह गरेका हुन्।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस