२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यही हो उदयपुरको भाईरल रोटी : प्रतिगोटा ठ्याक्कै १२० रुपैयाँ

उदयपुर, असोज १२ । उदयपुरमा रोटीको मूल्य प्रतिगोटा १२० रुपैयाँ तिर्नु परेको एक ग्राहकले गुनासो गरेपछि सामाजिक सञ्जालमा भाईरल बनेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिकास्थित बसाहाको बर्खेडाँडामा रहेको होटल सोलुखुम्बु एण्ड क्याफेले अत्यधिक महंगो मूल्यमा रोटी बिक्री गरेको भन्दै आलोचना सुरु भएको हो ।

नेत्रबहादुर नेम्वाङ नाम गरेका ति ग्राहकले आफू होटलभित्र गएर एउटा रोटी खादा १२० रुपैयाँ तिर्नु परेको गुनासो गरेका छन् । ‘यो सेलरोटी रु. १२० अनिवार्य कुपन काटी तिरियो’ महंगीको चरमसीमा दर्शाउदै नेम्वाङले फेसबुकमा लेखेका छन्, ‘सार्वजनिक महत्वको विषय भएकाले उदयपुर होटल व्यवसायीले ध्यान दिन आवश्यक देखियो ।’

नेम्वाङले आफ्नो टाइमलाईनमा अपलोड गरेको तीन वटा तस्वीरमा होटल, आफू सवार गाडी र महंगो रोटी जसमा केही अचारसमेत देखिएको छ । सामाजिक सञ्जालमा चौतर्फी तस्वीर भाईरल भएपछि नेपाल पत्रकार महासंघ उदयपुरका सल्लाहकार भोटराज राईले नेम्वाङको पोस्ट शेयर गर्दै तत्काल सरोकारवाला निकायलाई गम्भीर हुन ध्यानाकर्षण गराएका थिए ।

यता पत्रकार राजेन्द्र दुष्टले पनि पोस्ट शेयर गर्दै तत्काल अनुगमन गर्न सम्बन्धित वडाध्यक्षलाई आग्रह गरेको बताए । सो क्षेत्रका वडाध्यक्ष लुंगाराज राईले भने आफूले तुरुन्त बुझेर आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । उनले शुक्रबार दिउँसो १ः०० बजे त्यस ठाउँमा रहेका होटल व्यवसायीहरुलाई बैठक बसाएर मूल्य एकरुपता निर्धारणका लागि छलफल समेत गरेका थिए ।

यसैगरी एउटै रोटीको मूल्य १ सय बढी सर्वसाधरणले तिर्नुपरेको घटना बाहिरिएपछि ध्यानाकर्षण भएको जिल्ला होटल तथा पर्यटन व्यवसायीसंघ उदयपुरका महासचिव इश्वर राईले बताएका छन् । संलग्न होटल सञ्चालकलाई फोनमार्फत सचेत गराएको र आउदा दिनमा मूल्य हेरफेर गर्ने सहमति भएको महासचिव राईको भनाई छ ।

अन्य राजमार्गहरुमा सञ्चालित बिभिन्न होटल तथा खाजाघरहरुमा आफूखुसी अचाक्ली महंगो मूल्य असुल्ने गरेको गुनासो बेला बेला सुनिदै आएको छ । तर, निर्माणाधीन अवस्थामै रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्खेडाँडास्थित नारादमुनी थुलुङ चोक केही मिटर पश्चिमतिर रहेको सोलुखुम्बु होटल एण्ड क्याफेले प्रतिगोटा १२० रुपैयाँमा रोटी बिक्री गरेको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालहरुमा ट्रोलसमेत भइरहेको छ ।

 

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस