२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रगत समूह नै फरक दिने भरतपुरको ल्याव, अनावश्यक र बारम्बार परीक्षण गराएर ठगी

 

चितवन । भरतपुर अस्पतालको गम्भीर त्रुटि बाहिर आएको छ । मंगलबार भरतपुर अस्पतालमा गर्भ जाँच गराउन गएकी भरतपुर १६ कि सावित्री शर्मा पौडेललाई डाक्टरले रगत परीक्षणका लागि लेखिदिए ।

उनले भरतपुर अस्पतालकै ल्याबमा रगत परीक्षण गर्न दिइन् । दिउँसो पौने १ बजे जाँच गर्न दिएको रक्त समूह ओ पोजेटिभ भएको अस्पतालको ल्याबले रिपोर्ट दियो । त्यो रिपोर्ट पाएपछि उनलाई जाँच गर्ने डाक्टरले परिवारका सदस्यको रगत समूहबारे जानकारी लिए । तर, यसअघि जाँच गराउँदा आफ्नो रगतको समूह ओ पोजेटिभ नआएको उनले बताइन् । परिवारका सदस्यको पनि उक्त रगत समूह नभएपछि डाक्टरले अरु कुनै ल्याबमा रगत जाँच गरेर आउन सुझाए ।

सोहीअनुसार उनले अस्पताल बाहिरको ल्याबमा गएर सोही दिन पौने ४ बजे रगतको नमुना दिइन् । उक्त रिपोर्टमा भने शर्माको रगत समूह ए नेगेटिभ आयो । रिपोर्ट देखेर अलमलमा परेका डाक्टर भन्छन्, ‘अस्पतालको ल्याब नै विश्वसनीय भएन । उनको शल्यक्रियाबाट सुत्केरी गराउनुपर्ने अवस्था छ ।’ १६ असोजको लागि डाक्टरले समय दिएका छन् । तर, डाक्टर आफैं अलमलमा छन् कि, कुन समूहको रगत तयारी अवस्थामा राख्न भनौं । उनले गलत समूहको रगत पर्यो भने महिलाको ज्यानै जोखिममा पर्ने समेत बताए ।

यो मात्रै होइन, भरतपुर २३ की टीकामाया पाठकलाई पनि अस्पतालले ठगेको छ । ५७ वर्षीया पाठक हाडजोर्नी सम्बन्धी समस्या लिएर असोज ६ गते भरतपुर अस्पताल पुगेकी थिइन् । उनले आफूलाई भएको समस्या अस्पतालको हाडजोर्नी विभागमा देखाइन् । त्यसपछि डाक्टरले रगत, एक्सरे लगायतका ६ प्रकार जाँच सहितको लिष्ट दिएर उनलाई ल्याबमा जान लेखिदिए । पाठक स्वास्थ बीमा कार्यक्रममा सहभागी छिन् । भरतपुर अस्पतालमा बीमामार्फत उपचारमा आउन बिरामी धेरै हुने हुनाले लामो लाइन हुने गरेको छ ।

बिहानै अस्पताल आएकी उनले ६ गते दिनभर लगाएर रगत दिएर घर गइन् । रिपोर्ट आउन ढिला हुने भनेपछि पर्सिपल्ट जाँच गराउन गएकी उनलाई ल्याबले रिपोर्ट दिएन । उल्टै नयाँ टिकट काटेर फेरि डाक्टरकोमा जानुपर्यो । पाठकका छोरा विकास पाठक भन्छन्, ‘ममीलाई पहिलो दिनको रिपोर्ट नदिएर अर्को फेरि रगत जाँच गर्न बिल काट्न लगाएछन् ।’

एक दिनको फरकमा अस्पतालले ६ वटा उही जाँच गर्न लगायो । ९ गते १ हजार ९२५ रुपैयाँको बिल तिरेकी उनले उही जाँचको लागि पर्सिपल्ट असोज ८ गते रिपोर्ट थप गरी दुई हजार १५ रुपैयाँको बिल कटाएर पठायो । रगत पनि पुनः लिएपछि उनले आफू ठगिएको थाहा पाइन् । आफू ठगिएकोबारे बिरामीहरुले सार्वजनिक रुपमा गरेका पोष्टहरुमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेल अनावश्यक स्टन्ट भन्छन् । उनले आफूलाई समस्या परेपछि तत्काल प्रशासनमा सम्पर्क राख्नुको सट्टा सामाजिक सञ्जालमा राखेर स्टन्ट गर्दै आएका आरोप लगाए ।

चितवनको भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो । अस्पतालमा ६ सय शैय्या रहेको छ । चितवन र यस आसपासका १३ जिल्लाका रेफरल अस्पतालको रुपमा रहेको यस अस्पतालमा दैनिक दुई हजार ५०० जनासम्म बिरामी आउने गरेका अस्पतालको तथ्यांक छ । यद्यपि प्रभावकारी सेवा दिन नसक्दा अस्पताल प्रशासनले बिरममीहरुबाटै आलोचना खेप्दै आएको छ ।

तस्बिर प्रतिमा शिलवालको फेसबुकबाट

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस