२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं । दुई दिनदेखिको निरन्तर वर्षाका कारण आएको बाढीले मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका-४ कानाबगरस्थित कालापैरा खोलामा आएको बाढीले बागलुङ-बुर्तिबाङ-पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो।

सडक शनिबार दिउँसोदेखि अवरुद्ध भएपछि पूर्वीरुकुमदेखि काठमाडौं, पोखरा, बागलुङ लगायतका स्थानमा छुटेका सवारी साधन सडकमा रोकिएका छन्। सयौं यात्रु अलपत्र परेका छन्। वर्षा अहिले केही कम भएको हुँदा खुलाउने प्रयास भएको निसीखोला गाउँपालिका-४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए।

बाढीले करीब दुई सय मिटर कालोपत्र सडकमा क्षति पुर्‍याएको अध्यक्ष पौडेलको भनाइ छ। कानाबगर हुँदै ओखरेनी जोड्ने शाखा सडकमा पहिरो जाँदा कालापैरा खोलामा बाढी आएर सडक अवरुद्ध बनाएको उनी बताउँछन्।

“यो ठाउँमा पानी पर्‍यो भने माथिबाट लेदो सहितको ठूलो बाढी आएर एकै छिनमा सबै सडक पुरिदिन्छ,” उनले भने। उनका अनुसार बर्खा लागेपछि अहिलेसम्म धेरै पटक यस क्षेत्रमा बाढी आएर सडक अवरुद्ध बनेको छ। “जति पटक बाढीले सडक अवरुद्ध बनाउँछ, त्यति पटक लोकमार्गसँग सहकार्य गरेर खुलाएका छौं,” अध्यक्ष पौडेलले भने। -रासस

 

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस