६ असोज, काठमाडौं । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । शुक्रबार राति बजारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
राति १ बजे लागेको आगो बिहान साढे चार बजे सुरक्षाकर्मी र स्थानीयबासीले नियन्त्रणमा लिएका छन् । डीएसपी थापाका अनुसार बजारका ६ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । कुनै मानवीय क्षति नभएको तर ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको छ ।
जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए । तर, क्षतिको पूर्ण विवरण भने आइनसकेको डीएसपी थापाको भनाइ छ । तस्बिर सौजन्य : कविराज कार्कीको फेसबुक