२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जनालाई प्रहरी‍ले लियो नियन्त्रणमा

बुटवल । बाँकेमा दुई समूहको झडप पछि बाल सुधार गृह तोडफोड गरी भागेकामध्य ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए अनुसार बिहीबार राति आन्तरिक विषयमा झडप भएपछि बालसुधार गृह तोडफोड गरी ३० जना भागेका थिए।

उनीहरूलाई गएराति नै नियन्त्रणमा लिएर बाल सुधार गृहमै पठाइएको डिएसपी डाँगीले पुष्टि गर्नुभयो । बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले पनि दुई समूहको झडपले बाल सुधार गृह रातभर तनावग्रस्त भएको बताउनुभयो । अवस्था अहिलेसम्म मत्थर नभएको उहाँले जानकारी दिनुभयो । ‘हामी बालसुधार गृह भित्र जान मिल्दैन र भित्र अहिले पनि होहल्ला र तनाव कायमै छ,’ एसपी राठौरले भन्नुभयो, ‘ यो बाल सुधार गृह भित्र बस्दै आएकाहरुको छाडापन र आन्तरिक लफडाको कारण सृजित अवस्था हो।’

बालगृहमा रहेका २५४ जना मध्य १६५ जना १८ बर्ष माथिका रहेको र उनीहरुकै कारण असहजस्थिति सृजना भएको एसपी राठौरले जानकारी दिनुभयो । अहिले पनि भित्र त्यस्तै होहल्ला छ,’ एसपी राठौरले भन्नुभयो ‘ उमेर पुगेका बयस्कहरुपनि छन्, तरपनि उनीहरु राज्यका नजरमा बालक हुन्।’

उनीहरुले बदमासी गर्दैनन् र गरेपनि त्यो बाल बिजग (बाल बिठ्याँई) मात्रै हुन्छ भन्ने राज्यको मान्यताका कारण प्रहरीले भित्र प्रवेश गरी हस्तक्षेप गर्न सक्ने अवस्था नरहेको प्रहरी अधिकारीहरु बताउनुहुन्छ । झगडामा सामेल र उग्रता प्रर्दशन गरी रहेकाहरुलाई बाहिरी जिल्ला स्थानान्तरण गर्ने तयारी भइरहेको एसपी राठौरले बताउनुभयो ।

‘हामीले माथि सोही अनुसार पत्राचार गरेका छौं, आग्रह गरेका छौं,’ उहाँले भन्नुभयो। माथिल्लो निकायबाट आग्रह गरीएअनुसारको जवाफ आए बाल सुधार गृहमा झगडा गर्नेहरूलाई स्थानान्तरण गरीने उहाँले बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी बिपीन आचार्यले स्थिति बिस्तारै सुधारउन्मुख रहेको बताउनुभयो ।

‘अहिले दुबै पक्षका बीचमा बार्ता र संवादको तयारी भइ रहेको छ,’ प्रजिअ आचार्यले भन्नुभयो ‘वार्ता र संवादकै माध्यमबाट सुधार गृह भित्रको वातावरण विस्तारै सामान्य बनाउने प्रयास भइ रहेको छ।’ बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा घाइते भएका ११ मध्य उपचारका क्रममा एक जनाको मृत्यु भइ सकेको छ। रूपन्देही जिल्लाको कञ्चन गाउँपालिका–४ का १८ वर्षीय सुलभ केसीको उपचारका क्रममा राति नै मृत्यु भएको थियो। केसी अपहरण शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा दोषी ठहर भइ सजाय काटिरहेका थिए।
घाइते १० जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार जारी छ। घाइते मध्य एक जनाको अवस्था अझैं गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। अन्यको स्वास्थ्य अवस्था भने क्रमस सुधार उन्मुख रहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

 

प्रकाशित मिति : २०८० असोज ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस