२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा सरकारको द्रुत बस सेवा सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उदघाटन गर्नुभयो । द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा चल्ने छ । आज उदघाटन भए पनि भोलिदेखि मात्र सर्वसाधारण यात्रुको सेवामा द्रुत सेवाका बस चल्ने छन् ।

उदघाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन शाह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गर्नुभयो ।

अरु सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुगेको छ । माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् । रत्नपार्क(सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५–५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमामात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।

 

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस