२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो रहनेछ आज दिनभर मौसम

weather forecast nepal

काठमाडौं । आज देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार यतिबेला गण्डकी र कर्णालीमा आंशिकदेखि सामान्यसम्म बदली भएको छ भने देशका बाँकी प्रदेशमा मौसम आंशिक बदलीको अवस्था छ।

‘पछिल्लो एक घण्टामा कतै पानी परेको छैन’, उहाँले भन्नुभयो । यस्तै यतिखेर काठमाडौं उपत्यकाको मौसम पनि आंशिक बदलीको अवस्थामा रहेको मौसमविद् महर्जनको भनाइ छ। मौसमविद्का अनुसार आंशिक बदली भनेको २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाक्नु हो भने सामन्य बदली भनेको ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म आकाशमा बादल हुनु हो। अर्थात् बादल–घामको अवस्था हो। अहिले काठमाडौं उपत्यकामा पनि घाम लागिरहेको छ।

आज हिन्दू नारीहरूको महान् पर्व तीज हो। जसका कारण आज नाचगान, रमाइलो गर्ने चलन छ। त्यसैले आज अन्य दिनमा भन्दा मानिसलाई मौसम कस्तो रहला भन्ने चासो पक्कै अलि बढी भएको हुनुपर्छ। मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

‘काठमडौं उपत्यकामा पनि दिउँसो हल्का वर्षाको सम्भावना देखिएको छ’, मौसमविद् महर्जनले भन्नुभयो । यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहने मौसम महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। बुलेटिनअनुसार राति सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

मौसम महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ– लुम्बिनी, कर्णाली र सुदूर९पश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम रहने हुँदा सोबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले खासमा दिनको अर्थमा प्रयोग गरेको छ। दिउँसो भनेको बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समय बुझ्नुपर्ने मौसमविद् बताउँछन्। यस्तै राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयलाई बुझ्नुपर्ने मौसमविद्को भनाइ छ।

 

प्रकाशित मिति : २०८० असोज १ गते सोमवार
प्रतिक्रिया दिनुहोस