२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जन्मजात बोल्न नसक्ने २३ वर्षीय सञ्जय भण्डारीले एकै परिवारका ३ सहित ४ जनाको हत्या किन गरे ?

काठमाडौँ, असोज १ गते । काठमाडौँको तीनकुनेस्थित दिव्य सःमिल काठ गोदाममा शुक्रबार राति भएको सामूहिक हत्या घटनामा प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे–९ का २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, प्रहरी नायब उपरीक्षक अङ्कुर जिसीसहितको प्रहरी टोलीले अनुसन्धानका क्रममा आरोपित भण्डारीलाई काँडाघारीस्थित वीरेन्द्र चोकबाट शनिबार पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले पक्राउ परेका भण्डारी र मृतक नवीन राईबिच मोटरसाइकल दुर्घटनाको विषयमा गत वैशाखमा विवाद भएको थियो । मोटरसाइकलमा सवार राईले पैदलयात्री भण्डारीलाई सामान्य ठक्कर दिएपछि भएको विवादमा उल्टै कुटपिट गरेपछि भण्डारीले प्रतिशोधस्वरूप हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको राठौरले जानकारी दिनुभयो ।

आरोपित भण्डारी बोल्न र सुन्न नसक्ने (बहिरा) विशेष क्षमताका व्यक्ति हुन् । साङ्केतिक भाषा विज्ञको सहायतामा बयान लिइएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा प्रहरीले विशेष तालिमप्राप्त कुकुरसहितको विशेष प्रहरी टोली खटाएको थियो ।

आइतबार पक्राउ परेका युवकले प्रहरीसँगको बयानका क्रममा नवीन राईसँग आफ्नो रिसइबी रहेकाले त्यसैको प्रतिशोधमा हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे सूचना दिन प्रहरी कार्यालय पुगेका मोरङका दीपेन्द्र राईलाई शुक्रबार राति नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । हत्यामा राईको संलग्नता नदेखिएको पाइएपछि आइतबार नै उहाँलाई रिहा गरेको छ । घटना भएको काठ मिलमा बस्दै आएका दीपेन्द्र राई मृतक नवीन राईका दाइ हुनुहुन्छ । राति अबेर काठ गोदाममा फर्किंदा भाइलगायत चार जनाको हत्या भएको देखेपछि राई प्रहरीलाई जानकारी दिन नयाँ बानेश्वर प्रहरी वृत्त पुग्नुभएको थियो । राई शुक्रबार राति ११:१३ बजे काठ गोदाममा प्रवेश गरेर ११:३३ मा बाहिरिएको सिसिटिभी फुटेजबाट खुलेको छ । राई त्यहाँ पुग्नुभन्दा पहिले नै घटना भइसकेको खुलेको छ । प्रहरीले पक्राउ परेका सञ्जयका साथबाट धारिलो घरेलु हतियार बरामद गरेको जनाएको छ ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको चार वटै शवको पोस्टमार्टममा धारिलो हतियारबाट लागेको चोटका कारण मृत्यु भएको पुष्टि भएको छ ।

जन्मजात बोल्न नसक्ने भण्डारी काँडाघारीस्थित दिदीभिनाजुसँग बस्दै आएका थिए । आउजाउ गर्ने क्रममा विशाल सःमिलको टहरोमा राईलाई देखेका थिए । घटना भएको दिन पनि उनी राईलाई भेटेर कुराकानी गर्ने, निहुँ खोजे आक्रमण गर्ने भनेर काँडाघारीबाट गैरीगाउँ पुगेको खुलेको छ । काठ गोदामको पछाडि पट्टिको गेटबाट चढेर भण्डारी राईको कोठामा पुगेको खुलेको छ । सोही कोठामा दुई जनाबिच केहीबेर कुटपिट भएपछि भण्डारीले राईलाई खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।

हत्यापछि भण्डारीले हत्याको प्रत्यक्षदर्शी ७६ वर्षीय सुभद्रा भुजेलको हत्या गरे । त्यसपछि क्रमशः काठ गोदामका सुरक्षागार्ड पूर्णबहादुर र अम्बिका भुजेललाई टाउको र घाँटीमा पटक पटक खुकुरी प्रहार गरी हत्या गरेका थिए । त्यसपछि हिँडेरै काँडाघारीस्थित दिदीभिनाजुको कोठामा पुगेर सुतेका अभियुक्त शनिबार नक्सालस्थित आफू पढेको स्कुलका साथीलाई भेट्न पुगेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : २०८० असोज १ गते सोमवार
प्रतिक्रिया दिनुहोस