२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भोलिदेखि ठूला द्रुत सरकारी बस सेवा सुरु: छुट्टै लेन, एम्बुलेन्स जस्तै रातो बत्तिमा नरोकिने

काठमाडौं । नेपालमा पहिलो पटक द्रुत बस सेवा सञ्चालन हुने भएको छ । सरकारले ३ असोजमा संविधान दिवसको अवसर पारी सूर्यविनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो । यसका लागि सडक विभागले सडकमा मार्किङको काम गरिरहेको छ भने यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ ।

यस्तो बस सेवा सञ्चालनमा ल्याउने गरी अहिले सडकमा मार्किङको काम भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताउनुभयो । लेनमा आवश्यक भौतिक तयारी पूरा भएको जानकारी उहाँले दिनुभएको छ । सडक विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बससेवा सञचालन हुनेछ । द्रुत बसहरु चल्ने लेनमा दुई–दुई सय मिटरमा रेड मार्क गरिएको जानकारी पनि उहाँले दिनुभयो । खासगरी कार्यालय समयलाई ध्यानमा राखी द्रुत बस सेवा चलाउन लागिएको उहाँले बताउनुभयो ।

यसरी रेड मार्किङ गरेको सडकमा द्रुत बससेवा सञ्चालनको समयमा अन्य सवारी साधन गुड्न नपाउने उहाँले बताउनुभयो । ‘त्यस्तै चोकचोकमा हुने ट्राफिक लाइनमा पनि यी बस रोकिनुपर्ने छैन, ट्राफिक प्रहरीले एम्बुलेन्सलाई जसरी नै लाइट पास गराउनेछन्’, उहाँले भन्नुभयो । हाललाई यस्ता बसमा द्रुतसेवा लेखेर सञ्चालन गरिने र पछि एकै रङका बस चलाइने तयारी भएको पोखरेलले जानकारी दिनुभयो । ‘संविधान दिवसका दिनबाट ट्रायलका रुपमा चलाउनेछौँ । एक सातापछिबाट भने पूर्णरुपमा सञ्चालन हुनेछ,’ उहाँले भन्नुभयो । संसारभर सार्वजनिक यातायातलाई प्राथमिकता दिन द्रुत बस सेवा सञ्चालन गर्ने प्रचलन रहेको छ । नेपालमा पनि ४० सिट भन्दा माथिका बस सञ्चालनको तयारी रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १ गते सोमवार
प्रतिक्रिया दिनुहोस