२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डाक्टरहरुले देशभर बन्द गरे ओपीडी, अस्पतालमा बिरामी छटपटाउँदापनि सेवाबाट वञ्चित

काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् । बिरामी अस्पतालमा छटपटाउँदा समेत सेवाबाट वञ्चित भएको देखिन्छ । आकस्मिक कक्षमा विशेषज्ञ चिकित्सक हुँदैनन् । त्यहाँ पुगेपनि महंगो टिकट मात्र थमाइने हो । यसले आम सर्वसाधारण मारमा परेका छन् ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा ओपीडी सेवा बन्द गरिएको हो । उक्त घटनामा संलग्न दोषीहरूलाई छानबिन गरी कारबाही गर्न र देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गर्न संघले माग गरेको छ ।

संघले डाक्टरहरुलाई कुटपिट गर्नेहरुलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन माग गरेको थियो । तर सो समयअवधिसम्म पनि कारबाही नगरिएको भन्दै संघले आज सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरेको हो । गत साउन २२ गते डेंगुको लक्षण लिएर हेटौंडाको सन्चो अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई डाक्टरहरुले साउन २३ गते नै अर्को अस्पताल रेफर गर्नुभएको थियो । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । डाक्टरहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले प्रहरीलाई भदौ २९ गते तीन दिनको म्याद दिएको थियो ।

 

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस