२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चिकित्सक कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौं । हेटौंडामा चिकित्सकमाथि कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । हेटौंडाको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिटमा संलग्नलाई ७२ घण्टाभित्र कानूनी कारबाही गर्न संघले माग गरेको थियो ।

तर सरकारले दोषीलाई कानूनी कारबाहीको दायरामा नल्याएको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको संघका अध्यक्ष डा. अनिलबिक्रम कार्की र महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्तिमार्फत आम नागरिकलाई जानकारी गराउनुभएको छ । आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुने संघले जनाएको छ ।

संघले चिकित्सकमाथि कुटपिट गर्नेमाथि फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको सुनिश्चितता हुनुपर्ने माग गरेको छ । त्यस्तै देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्य रुपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि संघले माग गरेको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको जनशक्ति दिनप्रतिदिन विदेश गइरहेको भन्दै संघले अबिलम्ब चिकित्सक ऐन तथा चिकित्सक सेवा आयोगको स्थापनाको काम अघि बढाउन पनि माग गरेको छ ।

 

 

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस