२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा एकै परिवारका ३ सहित ४ जनाको हत्या

काठमाडौं । काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य स–मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उहाँकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चारै जना सोही स–मिलमा कार्यरत हुनुहुन्थ्यो । उहाँहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ । प्रहरी यो घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार, राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको छ । थप अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी परिसर काठमाडौंको टोली खटिएको प्रमुख थापाले जानकारी दिनुभयो । घटनाको यकिन कारण खुलेको छैन । घटनास्थलमा नेपाल प्रहरीको केनाइन महाशाखाबाट ट्रयाकर कुकुरहरू पनि ल्याइएको थियो ।

 

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस