काठमाडौं, भदौं २८ । संविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिनुभयो । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गर्नुभयो ।
नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा मानिसहरुको उल्लेख्य उपस्थिति छ । पशुपतिको बागमती किनार क्षेत्र भिडले खचाखच छ । नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेहरुको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे परेको छ । नेम्वाङको गत मंगलबार निधन भएको थियो । काठमाडौंको बालुवाटारस्थित निवासमै बेहोस हुनुभएका उहाँलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गर्नुभयो । सोही दिन बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
दुई दिन एमाले केन्द्रीय कार्यालय च्यासलमा र अर्को एक दिन बालुवाटारस्थित निवासमा श्रद्धाञ्जलीका लागि राखेपछि बिहीबार नेम्वाङको पार्थिव शरीर पशुपति आर्यघाट पुर्याइएको थियो । बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसार प्रक्रिया पूरा गरेपछि नेम्वाङको शवयात्रा सुरु भएको थियो । शवयात्रा बालुवाटार, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो । शवयात्रामा नेपाली सेनाको ब्याण्ड टोली संलग्न थियो । एमाले पार्टीका कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारण पनि शवयात्रामा सहभागी थिए । नेम्वाङको पार्थिव शरीरलाई आर्यघाट पुर्याएर फूलले सजाइएको चितामा राखिएको थियो । नेम्वाङको अन्तिम बिदाइमा सहभागी हुन सर्वसाधारण हातमा फूल लिएर लामबद्ध भएका थिए । अन्तिम बिदाइको दृष्य क्यामरामा कैद गर्न चाहनेहरु र समाचार संकलन गर्ने पत्रकारहरु पनि उल्लेख्य संख्यामा पशुपतिमा पुगेका छन् ।
विशेष रुपले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखेपछि सुरुमा परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाउनुभयो । त्यसपछि अन्य विशिष्ट व्यक्ति, र सर्वसाधारणले पुष्पगुच्छा चढाएर श्रद्धा व्यक्त गर्नुभयो ।