२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेम्वाङको पार्थिव शरीर दिनभरि पार्टी कार्यालयमा राखिने

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिनभरि नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । हृदयघातबाट निधन हुनुभएका नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको हो ।

पारिवारिक स्रोतका अनुसार नेम्वाङको अन्तिम संस्कार भने अष्ट्रेलियाबाट छोरा आएपछि मात्रै हुनेछ । छोराहरु भोलि साँझ ४ देखि ५ बजेसम्म आइपुग्ने पारिवारीक स्रोतले जनाएको छ । एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिनेछ ।

स्नातक अध्ययनका क्रममा विसं २०२८–२०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गर्नुभएका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति हुनुभएको थियो । वि.सं. २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र (माले) मा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभयो ।

वि.सं. २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । नेम्वाङ वि.सं. २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष–सभामुख बन्नुभयो ।

उहाँले विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटक–पटक गरी सात महिना जेल जीवन भोग्नुभयो । नेम्वाङले २०५१ सालमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हाल्नुभएएको थियो । त्यसैगरी वि.सं. २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गर्नुभएका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत हुनुहुन्थ्यो ।

 

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस