२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिका भ्रमण टोलीको संख्या घटाउन प्रधानमन्त्रीको निर्देशन, अब ५ सदस्यीय मात्रै

काठमाडौं, भदौं २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफूसँगै संयुक्त राज्य अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिनुभएको छ । उहाँले प्रधानमन्त्री कार्यालयबाट अमेरिका भ्रमणका लागि जान भनेर यसअघि निर्णय गरिएका २४ जनाको संख्या घटाएर ५ सदस्यीयमात्रै बनाउन मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिनुभएको हो ।

‘अहिले देशको आर्थिक अवस्था पनि खासै राम्रो छैन, यस्तो बेला ठूलो समूह लगेर जानुको कुनै अर्थ छैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘भोलि मंगलबारको मन्त्रिपरिषद् बैठकमा मुख्य सचिवले संख्या कटौतीको प्रस्ताव ल्याउनु हुनेछ।’ प्रधानमन्त्रीसँग अब एक जना स्वकीय सचिव, एक जना फोटोग्राफर र दुई जना सुरक्षाकर्मीमात्रै हुने छन्। स्वकीय सचिवबाट पनि को जाने भनेर अहिलेसम्म टुंगो नलागिसकेको र सम्भवतः गंगा दाहाल नै जाने प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। गंगा प्रधानमन्त्री प्रचण्डकी छोरी हुनुहुन्छ ।

प्रधानमन्त्रीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा जाने यो सबैभन्दा सानो टिम हुनेछ। यसअघि अमेरिका जाने भनेर निर्णय भएका मुख्य सचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको नामसहित प्रधानमन्त्री कार्यालयका केही सहसचिव र उपसचिवको नाम पनि भ्रमण टोलीको सदस्यबाट कटौतीमा परेको छ। प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल पनि हटाइएको छ। यसअघि प्रधानमन्त्री कार्यालयको कोटाबाट २४ जनालाई अमेरिका पठाउने निर्णय भएको थियो।

परराष्ट्र मन्त्री एनपी साउद नेतृत्वको एउटा टोली भने भोलि अमेरिका प्रस्थान गर्दैछ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्दै हुनुहन्छ । महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नुहुनेछ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुने तय भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुने कार्यक्रम छ । महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सीधै चीन जानुहुनेछ ।

 

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस