२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हावाहुरीबाट आएकाहरू निरङ्कुशताका दलाल हुन्, इँटको जवाफ पत्थरले दिन उत्रिनुहोस् – प्रचण्ड

विराटनगर । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहुरीबाट गाली गरेर आएकाहरू पार्टी जस्तो देखिएको बताउनुभएको छ । चार दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देश सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘म त हेर्नै सक्दिन । चित्रहरू हेर्नै नसकिने खालका छन् । त्यस्तैहरू आएका छन् । निरङ्कुशताका दलालहरू हुन् ती । लोकतान्त्रिक दलका नेतालाई खुकुरी हान्ने ? अब मोर्चाले इँटको जवाफ पत्थरले दिने हो,’ उहाँले भन्नुभयो, ‘लाखौं जनतालाई सडकमा ल्याएर हामी जिउँदै छौँ भन्ने बनाउनुपर्‍यो । म राजनीतिक लडाइँमा छु । हतियारविहीन युद्धमा छु तपाईँहरूले साथ दिनु पर्‍यो ।’

उहाँले आफूले केही नयाँ गर्न खोजेको बताउनुभयो । लाइसेन्स, नागरिकता, सामाजिक न्यायको क्षेत्रमा विदेशमा रहेका मजदुरहरू सामाजिक सुरक्षामा आबद्ध गर्ने, देशका अनौपचारिक क्षेत्रका श्रमिक लक्षित कार्यक्रम ल्याउन लागिएको बताउँदै उहाँले यो समाजवादको भ्रूण भएको दाबी गर्नुभयो । मिटर ब्याज अन्त्य गर्न कानून बनाएको, नागरिकताविहीनलाई नागरिकता बाँडिएको, भ्रष्टाचार र बेथितिको अन्त्य गर्न नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन तस्करी अन्त्यको लागि लागेको उहाँले बताउनुभयो ।

समाजवादी मोर्चाको कार्यक्रमले आफूलाई उत्साह थपेको बताउँदै प्रचण्डले सयौँ वर्षदेखि थुप्रिएको फोहोर फाल्न एकै पटकमा जादु जस्तो भने नहुने बताउनुभयो । यद्यपि हेल्लो सरकारमार्फत जनताको गुनासो सम्बोधनको प्रयास गरिएको समेत उहाँले बताउनुभयो । प्रचण्डले ठुला र दीर्घकालीन महत्त्व राख्ने आयोजना निर्माणमा पनि सरकार लागेको दावी गर्नुभयो । रोकिएको पञ्चेश्वर परियोजना अगाडि बढाएको बताउँदै उहाँले अब लोअर कर्णाली, चिसापानी आयोजनाको अध्ययन भइरहेको स्पष्ट पार्दै प्रचण्डले सीमा समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषय भारतसँग सहमति भएको बताउनुभयो । आसन्न चीन भ्रमणमा कृषि क्षेत्रको विकास र व्यापार घाटा कम गर्ने, नाकाहरू खोल्ने, चीनसँग विद्युत् व्यापारको ढोका खोल्ने विषयमा समझदारी हुने उहाँले बताउनुभयो ।

कोशी प्रदेशको नामकरण पछि उत्पन्न समस्या समाधान गर्न आफूले प्रयास गरिरहेको बताउँदै समझदारी र वार्ताबाटै समाधान निकाल्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘सामन्तवादको विरुद्ध झन्डा उठाउने झापाबाटै इतिहासबाट मिल्काइएका राजा महाराजा आएर बोल्न कसरी साहस गरे ? कोशी प्रदेश तिरै जातीय हिसाबले भड्काउने कोसिस भइरहेको जस्तो देखिएको छ । त्यो कसरी हुँदैछ ? उहाँले भन्नुभयो । सरकारको हैसियतले ठुलो मेहनत गरेर धरानको जातीय, धार्मिक हिंसा भड्काउन खोज्नेलाई परास्त गरेको प्रचण्डले बताउनुभयो । समाजवादी मोर्चा भनेकै पार्टी एकताको आधार बनाउनलाई बनाइएको हो । विप्लवले नेतृत्व गरेको नेकपा पनि मोर्चामा सहभागी हुनुको ठुलो महत्त्व रहेको प्रचण्डले बताउनुभयो । विगतमा उपेन्द्र यादव, बाबुराम, विप्लवसँगै रहेको स्मरण गर्दै अब नयाँ आधारमा नयाँ एकता हुने बताउँदै प्रचण्डले यसको ठुलो महत्त्व रहेको पनि बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस