२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सहकारीको हज्जारौंको अर्बौ रकम कुम्ल्याएर फरार ढोरपाटनका मेयरविरूद्ध रेडकर्नर नोटिस

काठमाडौं । नेकपा (एमाले) बाट निर्वाचित बागलुङ, ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली साढे तीन महिनादेखि फरार छन्। बागलुङ र पोखरामा पनि कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष रहेका जेठ ५ गतेदेखि सम्पर्कविहीन भएका हुन्। ‘हामीले यसबीचमा उजुरी आह्वान गरेका थियौं। तिनै उजुरीहरूको आधारमा प्रहरीले अनुसन्धान गरी मुद्दा दर्ता गरेर सुनुवाइ पनि भइरहेको छ,’ बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भन्नुभयो, ‘तर, मेयर नेपाली सम्पर्कमा आउनु भएको छैन।’

बाग्लुङ बुर्तिबाङ–१ घर भएका मेयर देवकुमार नेपालीसहित ११ जना सञ्चालकविरूद्ध असार २५ गते मुद्दा दर्ता भएको बागलुङ जिल्ला अदालत मुद्दा फाँटका नायब सुब्बा मोहन घर्तीले जानकारी दिनुभयो । ‘गत असार २५ गते इमेज वचत तथा सहकारीका अध्यक्ष तथा सञ्चालकहरूविरूद्ध मुद्दा दर्ता भएको हो। पछिल्लो साउन ४ गतेलाई पेसी तोकिएको थियो,’ मुद्दाको अवस्था सुनाउँदै उहाँले भन्नुभयो । साउन ४ गते लक्ष्मी सेन सुनार, चित्रबहादुर भण्डारी, रूपा विक, शक्ति किसान, डोरबहादुर परियार, लालमती रोका, सुनील नेपाली, झगबहादुर शाही, अनील नेपाली, देवकुमार नेपाली, अनीता बुढामगरसहित ११ जनाविरूद्ध मुद्दा दायर भएकामा प्रवन्धक शक्ति किशान, लेखा प्रमुख चित्रबहादुर भण्डारी र सञ्चालक समिति सदस्य लालमति रोकालाई पुपक्र्षका लागि थुनामा राखिएको प्रजिअ रोशनीकुमारी श्रेष्ठले जानकारी दिनुभयो । तर, देवकुमार नेपालीको पहुँचमा प्रहरी पुग्न सकेको छैन। वचतकर्ताहरूले उजुरी दिनेबित्तिकै जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयमा विदेश जान नदिन पत्राचार गरेको थियो।

तर, उनी फेला नपरेपछि रेडकर्नर नोटिस जारी गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन केसीले जानकारी दिनुभयो । ‘हामीले सुरूमै तीन जनालाई पक्राउ गरेका थियौं। यस प्रकरणमा अरू पक्राउ परेका छैनन्,’ उहाँले भन्नुभयो, ‘सहकारीका अध्यक्ष तथा मेयर देवकुमार नेपालीविरुद्ध इन्टरपोलमा रेडकर्डर नोटिस जारी गरिएको छ।’ उहाँले मेयर देवकुमारविरूद्ध एक महिनाअघि नै रेडकर्नर नोटिस जारी भएको पनि जानकारी दिनुभयो । मेयर देवकुमार सम्पर्कविहीन भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले इमेज सहकारीका अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीविरूद्ध अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई जेठ १६ गते पत्राचार नै गरेको थियो।

जेठ २१ गते जिल्ला प्रहरी कार्यालय बागलुङले उजुरी आह्वान गरेको थियो। मेयर देवकुमार नेपालीलगायत सहकारी सञ्चालकहरू विरूद्ध १ हजार ४ सय ८१ जनाले उजुरी दिनुभएको थियो । बागलुङमा मात्रै सहकारीले ८ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको डेढ अर्ब बढी रुपैयाँ बचत अपचलन गरेको गरेको देखिएको छ। मेयर देवकुमारले पोखरा महानगरपालिकामा पनि इमेज वचत तथा ऋण सहकारीकै नाममा अर्को सहकारी दर्ता गरेका थिए। जहाँबाट ५ सय बढी बचतकर्ताका ५० करोड रुपैयाँ अपचलन गरेको सहकारीका प्रबन्धक दीपक पौडेलले बताएका छन्।

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस