२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अस्वस्थ नेत्री सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप

Myanmar's pro-democracy leader Aung San Suu Kyi

लण्डन । सैनिक हिरासतमा रहनु भएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप उहाँका कान्छा छोराले लगाउनुभएको छ । दाँतको गम्भीर समस्याबाट पीडित ७८ वर्षीया नेत्रीलाई आपत्कालीन स्वास्थ्य सेवाबाट वञ्चित गरिएको उहाँका छोरा किम एरिसले बताउनुभएको हो । बिरामी आमालाई स्वास्थ्य सेवा उपलब्ध गराउन सैन्य सरकारसमक्ष कारागारका अधिकारीहरूले गरेको अनुरोधलाई सैनिक नेतृत्वले रोकेको किमले बताउनुभयो ।

दाँत र गिजाको गम्भीर समस्याका कारण आफ्नी आमा केही दिनदेखि अस्वस्थ भई खाननसक्ने अवस्थामा पुग्नुभएको उहाँले बिबिसी बर्मेली सेवालाई बताउनुभयो । उहाँ न्यून रक्तचापबाट पनि पीडित हुनुहुन्छ । कारागार स्रोतले पनि नेत्री सुची भोजन गर्न असमर्थ भएकी बताएको छ । यद्यपि एक सैन्य प्रवक्ताले उहाँको स्वास्थ्यमा समस्या नभएको तथा सैनिक एवम् गैरसैनिक चिकित्सकहरूबाट नियमित रूपमा स्वास्थ्य परीक्षण एवम् उपचार भइरहेको दाबी गरेका छन् । उहाँको दाँतको दुखाई कम गर्ने उद्देश्यले नरम खाना र औषधियुक्त जेली खुवाइएको बताइएको छ ।

सन् २०२१ को फेब्रुअरीमा सैन्य विद्रोहपछि सत्ताच्युत गरिएकी नेत्री सुचीलाई सोही समयदेखि हिरासतमा राखिएको छ । सैनिक शासनको विरोधसँगै म्यान्मा गृहयुद्धमा प्रवेश गरेपछि हजारौँले ज्यान गुमाएका छन् । यो हिंसाका घटना बढिरहेका छन् । गत जुलाईमा उहाँलाई राजधानी नेपीट जेलबाट नजरबन्दमा सारिएको थियो तर नोबेल पुरस्कारबाट सम्मानित सुचीलाई कहाँ राखिएको छ भन्ने स्पष्ट छन् ।

बेलायतमा बस्दै आएका एरिसले आफ्नी आमाले वान्ता गरिरहेकी र मुर्छापर्ने गरेको जनाउँदै उपयुक्त चिकित्सा सेवाबाट बिरामीलाई वञ्चित गर्नु क्रूरताको पराकाष्ठा भएको टिप्पणी गर्नुभएको छ । उहाँले आमाको बिग्रँदो स्वास्थ्यले जीवन नै जोखिममा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

देशका सबै राजनीतिक दलहरूको गठबन्धन सम्मिलित म्यान्माको निर्वासित राष्ट्रिय एकता सरकारले अन्तर्राष्ट्रिय समुदायलाई नेत्री सुची जस्ता राजनीतिक बन्दीहरूलाई उचित उपचार सेवा उपलब्ध गराउन सैनिक शासकलाई दबाब दिन आग्रह गरेको छ ।

धेरै विश्वका धेरै नेताले पनि उहाँको निःशर्त रिहा गर्न माग गरेका छन् । साथै उनीहरूले पक्राउ गरिएका विपक्षीलगायत सबैलाई हिरासतमुक्त गर्न आह्वान गरेका छन् । मङ्गलबार इन्डोनेसियाको राजधानी जकार्तामा सुरु भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)को द्विवार्षिक शिखर सम्मेलनमा म्यान्माको राजनीतिक सङ्कटलाई लिएर गम्भीर चिन्ता व्यक्त गरिएको थियो ।

आसियान नेताहरूले त्यहाँ जारी हिंसाको लागि म्यान्माका सैन्य अधिकारी जिम्मेवार रहेका भन्दै उनीहरूको निन्दा गरेका थिए । प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेपछि शिखर सम्मेलनमा म्यान्मालाई आमन्त्रित नगरेको यो दोस्रो वर्ष हो । अघिल्लो वर्ष पनि म्यान्मालाई आमन्त्रण गरिएको थिएन । मङ्गलबारको बैठकमा आसीन नेताहरूले म्यान्मा सङ्कट समाधानका निम्ति गत वर्ष सैन्य सरकारलाई दिइएको पाँचुबँदे मार्गचित्र कार्यान्वयन नगरेमा त्यसको पनि आलोचना गरेका थिए । रासस/एपी

प्रकाशित मिति : २०८० भाद्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस