काठमाडौं । लेखा अधिकृत तोरणबहादुर कार्कीले सरकारी जागिर रहँदाको २४ वर्षमा अनियमितता गरी झन्डै पाँच करोड रुपियाँ आम्दानी गरेको पाइएको छ । जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत कार्कीले पदको दुरुपयोग गरी सो रकम कमाएका हुन् । २०५३ साल जेठ १७ गते सरकारी सेवामा प्रवेश गरेका कार्की गत वर्ष मंसिर २८ गतेसम्म जागिरे थिए । अकुत सम्पत्ति आर्जन गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धानले गरेको छानबिनका क्रममा सो तथ्य खुलेको हो । कार्कीको जीवनशैली अस्वाभाविक, पदको हैसियतअनुसार अमिल्दो भएको आशंका गरी अख्तियारमा उजुरी परेको थियो । उजुरी परेको महिनौं दिनपछि आयोगले छानबिन गरेर सो स्थिति पाइएको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो ।
अधिकृत कार्कीले कमाएको ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपियाँ ६६ पैसा बराबरको सम्पत्ति स्रोत नखुलेको भन्दै आयोगले भ्र्रष्टाचारको मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेको छ । जागिरे अवधिमा कमाएको र खर्चको गरेको बीच तारतम्यता नदेखिएपछि आयोगको प्रारम्भिक अनुसन्धानले देखाएपछि मुद्दा दायर गरेको प्रवक्ता दाहालको भनाइ रहेको छ ।
जागिर छँदा कार्कीको समग्र आयतर्फ पारिश्रमिक आय, निजकी श्रीमतीको पारिश्रमिक आय, विभिन्न भत्ता आय, घर बहाल, बिमा परिपक्व, जग्गा बिक्री, बैंक व्याज, बिभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जा, ऋणबापत प्राप्त विप्रेषण गरी वैध आय १ करोड ८ लाख ४८ हजार ५ सय ९० रुपियाँ ६ पैसा रहेको आयोगले जनाएको छ ।
सोही अवधिमा निजले सिर्जना गरेको खर्च तथा लगानीतर्फ घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, अध्ययन, ऋण लिएबापत तिरेको सावाँ व्याज, बिमा प्रिमियमबापत तिरेको रकम, सवारी साधन खरिद, बिभिन्न कम्पनीहरूको सेयर खरिद÷लगानी गर्दा भएको खर्च, पँुजीगत लाभकर, घर वहाल कर, बैंक मौज्दात गरी ५ करोड ७५ लाख ८७ हजार ३ सय ७० रुपियाँ ७२ पैसा देखिन आएको आयोगले जनाएको छ ।
सो सिर्जित आयबाट निजको व्यय घटाउँदा हुन आउने ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपियाँ ६६ पैसा बराबरको खर्च तथा लगानी ९सम्पत्ति० को वैधानिक स्रोत नखुलेको प्रवक्ता दाहालको भनाइ रहेको छ ।
कार्कीको वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको छ । प्रवक्ता दाहालले भन्नुभयो– ‘वैधानिक रूपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने किसिमको कार्की र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्चस्तरको जीवनयापन गरेको देखिन आएको छ ।’
कार्कीविरूद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार गैरकानुनी तवरले आर्जन गरेको सम्पत्ति जफत एवं असुल गर्न मागदाबी लिएको छ । आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट बढे बढाई हाल कायम रहेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदाबी लिइएको छ ।
त्यस्तै, उनकी श्रीमती उर्मिला थापाको नाममा पनि सम्पत्ति देखिएको भन्दै सम्पत्ति जफत गर्नका लागि मात्रै उनलाई प्रतिवादी बनाइएको छ । श्रीमती थापा कार्कीसमेतको नाममा जग्गाहरू खरिद, सेयर खरिद, सवारीसाधन खरिद तथा बैंक खाताहरूमा रकम मौज्दातलगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो जफत गर्ने प्रयोजनार्थ प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।