२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशी प्रदेश सरकारविरुद्धको मुद्दा सपना मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा

काठमाडौं । कोशी सरकार गठनविरुद्धको मुद्दा सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको छ । पूर्ण इजलासमा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ । हिजो सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश भएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिट निवेदनको सुनुवाइका लागि आइतबारको इजलासमा विपक्षीहरूका तर्फबाट सुरुमा संवैधानिक इजलासको माग भएकामा न्यायाधीशद्वय मल्ल र माथेमाले पूर्ण इजलासमा निरन्तर सुनुवाइबाट टुंग्याउने गरी आदेश दिनुभयो ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा शुक्रवार सुनुवाइ तोकिएकामा न्यायाधीश खतिवडाले उक्त रिटमा आफैँले कारण देखाऊ आदेश दिएका कारण पूर्ण सुनुवाइमा बस्न नमिल्ने बताएपछि आइतबार ‘हेर्न नमिल्ने’ मा राखिएको थियो । भदौ ७ को प्रारम्भिक सुनुवाइमा न्यायाधीश खतिवडाको एकल इजलासले सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको ठहर गरेको छ ।

सर्वोच्चले दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको उक्त आदेशले मुख्यमन्त्री थापा नेतृत्वको सरकार कामचलाउ अवस्थामा छ । मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत विश्वासको मत दिनुभएको थियो । यस्तै अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनाले समेत मत दिएको विषयमा समेत कार्कीले विपक्षी बनाउनुभएको छ ।

 

 

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस