२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सचिवालयमा माधव नेपाल अल्पमतमा परेपछि युवा संघमा झलनाथ पक्षको एकलौटी !

काठमाडौं । नेकपा एसको सचिवालयभित्र माधव नेपाल नै अल्पमतमा पर्नुभएको छ । त्यसको असर युवा संघको नेतृत्वमा देखिएको छ । केही देखिएको विवादमा झलनाथ पक्षले एकलौटी गरेको खुलेको छ ।

भदौ ९ गते युवा संघ नेपालले केन्द्रीय सचिवालय बैठक बोलायो । उक्त बैठकबाट तत्कालीन अध्यक्ष नरेश शाही बिदा हुनुपर्ने र आयोजक कमिटी बन्नुपर्ने थियो । युवा संघको संयोजकका आकांक्षीमा माधव नेपालका भाञ्जा नितेश पौडेल र म्याग्दी जिल्ला पार्टी अध्यक्षसमेत रहनुभएका कृष्ण विकको दाबी थियो । विकलाई बिदा हुने अध्यक्ष नरेश शाही, महासचिव दीपक जिएमहरूको साथ थियो । पौडेललाई युवा संघकी इञ्चार्ज दिलु पन्त, गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरुङ (दीपक मनाङे) सहितको साथ थियो ।

सचिवालय सदस्य क–कसलाई मान्ने भन्ने विवाद सुल्झिन नै समय लाग्यो । पहिला पार्टीको संगठन विभागका सचिव लक्ष्मण केसीको संयोजकत्वमा एउटा कार्यदल बनाइयो । उक्त कार्यदलले दुवै पक्षले तयार पारेको नामलाई काँटछाँट गर्दै सचिवालयको नामावली तय गर्‍यो । त्यसअनुसार भदौ ९ गते बैठक बस्ने भनी सबैलाई खबर भयो । तर, महाधिवेशन आयोजक कमिटीको संयोजक बनाउने विषयमा भएको पूर्व छलफलका क्रममा दुवै पक्षको दाबी उत्तिकै कायम हुँदा निर्णय हुन सकेन ।

बैठक बस्नुअघि नै गञ्जागोल शुरु भयो । सचिवालय बैठक बसेको भए र मतदानबाट आयोजक कमिटी चयन गर्ने स्थिति हुँदा नितेश पौडेल बलियो हुनुहुन्थ्यो । त्यसैले त्यो अवस्था नआओस् भन्नका लागि नरेश शाही पक्षले कालोपुलमा र पौडेल पक्षले नयाँ बानेश्वरमा अलग अलग भेला बोलाए । दुवै भेलाका निम्ति सचिवालय सदस्यहरू आ–आफ्नो रुचिअनुसारको ठाउँमा जुटेको देखियो । यदि ती भेला सम्पन्न भएको भए अलग अलग आयोजक कमिटी बन्ने अवस्था हुन्थ्यो । यस्तो स्थिति नआओस् भन्नका लागि माधव नेपाल र झलनाथ खनालकै सक्रियतामा दुवै भेला स्थगित गराइयो ।

रमाइलो के भयो भने नरेश शाही पक्षले कालोपुलमा राखेको भेलामा गुन्डा नाइके चक्रे मिलनपनि पुग्नुभएको थियो भने पौडेल पक्षको भेलामा दीपक मनाङे देखियो । विवाद चुलिएपछि माधव नेपाल र खनालको पक्षका नेताहरूले बोलाएको बैठक बस्न दिने र त्यही बैठकको बहुमतले गर्ने निर्णय मानेर जाने सहमति भयो । तर, त्यहाँ माधव नेपाल आफैँ अल्पमतमा पर्नुभयो । उहाँको पक्षमा उपाध्यक्ष प्रमेश हमाल, जयन्ती राई, उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर, एकजना सचिव मात्र उभिनुभयो । अर्को पक्षमा झलनाथ खनालसहित उपाध्यक्ष बेदुराम भुसाल, राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, उपमहासचिव जगन्नाथ खतिवडा, विजय पौडेललगायत देखिनुभयो ।

बहुमत नरेश शाही पक्षको उम्मेदवारका पक्षमा थियो । बैठकमा एक पक्षबाट गरिएको मुख्य तर्क थियो, केपी ओलीको व्यक्तिवाद विरुद्ध विद्रोह गरेको भन्ने, अनि भाञ्जालाई युवा संघको अध्यक्ष बनाउन मरिहत्ते गर्ने ? अर्को पक्षको तर्क थियो, ‘संगठनको अध्यक्ष हुने हैसियत बनाएको मान्छेलाई पार्टी अध्यक्षको नाता परेको नाममा रोक्न पाइँदैन । को मान्छेसँग कसको के नाता पर्छ भन्ने नाममा नेतृत्व चयन रोक्ने हो भने माधव नेपालको नाता पर्नेजतिले पार्टी छाडेर जाऊँ भन्नुपर्‍यो । हैन भने युवा संघको सचिवालयका बहुमत सदस्यले गरेको निर्णय मान्नुपर्‍यो ।’

तर, बेदुराम र घनश्याम भुसालले नै माधव नेपालको इच्छाअनुसारको भूमिका नखेलिदिँदा खेल खत्तम भयो । उहाँलाई बैठकमा बहुमतको निर्णय मान्ने कि नमान्ने भनी र्‍याखर्‍याख पारियो । माधवले ‘बहुमतलाई मान्छु’ भन्दा यस्तो निर्णय भयो । यो सम्पूर्ण खेलको योजना डा. विजय पौडेलले बनाएको नितेस पक्षको आरोप छ । उहाँको योजनालाई कार्यान्वयन गर्न जगन्नाथ खतिवडा लागि परेको भनाइ छ । डा. पौडेलले यदि सचिवालयको बैठकको बहुमतलाई नमान्ने हो भने राजीनामा दिने समेत बताएको नेताहरूको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस