२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेनकी श्रीमती चढेको गाडी ‘एक मिनेटमात्रै’ रोकिएको थियो…!

काठमाडौं । शनिबार बेलुका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्नुभयो– आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।”

बालेनले राखेको उक्त स्टाटस भाइरल नै भयो । सरकारप्रति आक्रोशित युवा जमातले उहाँलाई समर्थन गरेको देखिएको छ भने धेरैले बालेनलाई गलत स्टाटस भन्दै चर्को आलोचना पनि गर्नुभएको छ । समाचार तयार पार्दासम्म एक लाख बढीले प्रतिक्रिया जनाइसकेका छन् । बालेनले उक्त स्टाटस किन राख्नुभयो भन्ने चौतर्फी चासो भइरहेका बेला शनिबार दिउसोको घटनासँग सम्बन्धित रहेको स्रोतले जानकारी दिएको छ ।

बालेनले उक्त स्टाटस शनिबार बेलुका ९ बजेर २१ मिनेटमा राख्नुभयो । बिदाको दिनमा ट्राफिक प्रहरीले सरकारी गाडी सञ्चालनमा कडाइ गरेको छ । तर शनिबार दिउँसो काठमाडौंको कोटेश्वरमा प्रहरीले रोकेको सरकारी गाडीमा बालेनकी श्रीमती रहेको र उक्त गाडी कहाँबाट आएको भनेर सामान्य सोधपुछमात्रै गरेको स्रोत बताउँछ ।

उपत्यका ट्राफिक प्रमुख डीआईजी पोषराज पोखरेलले पनि कोटेश्वरमा काठमाडौं महानगरपालिकाको सरकारी गाडी रोकिएको पुष्टि गर्दै बिदाको दिनमा चलाउन पास चाहिन्छ भनेर चालकलाई भनेको जानकारी दिनुभयो । चालकले सोधपुछका क्रममा गाडीमा म्याडम हुनुहुन्छ भनेर जानकारी गराएको प्रहरीले जानकारी दिएको छ । त्यसपछि आक्रोशित बालेनले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएको स्रोतको दावी छ ।

तर बालेनको सचिवालयले भने यस विषयमा कुनै जानकारी नभएको भन्दै पुष्टि गर्न पन्छिएको छ । “शनिबारको दिनमा पास लिएकामात्रै सरकारी गाडी चलाउन पाइन्छ,” चेकिङमा खटिएका एक प्रहरीले भन्नुभयो, “सामान्य सोधपुछमात्रै गरेका हौँ । कहाँबाट आउनुभएको हो भनेरमात्रै सोधेका हौँ, चालकले काठमाडौं महानगरपालिकाको गाडी हो म्याडम हुनुहुन्छ भनेपछि छाडिदिएका हौँ । जम्मा एक मिनेटजतिमात्रै रोकेका हौँ ।” उहाँका अनुसार सामान्य भनाभनसमेत भएको थिएन । “भएको त्यत्ति हो,” स्रोतले भन्यो, “उहाँले बेलुका किन र के कारणले स्टाटस लेख्नुभयो थाहा भएन ।”

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस