२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट, नेपालको नाटकीय जित

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बिहीबार घरेलु टिम मलेसियालाई नाटकीय रूपमा पाँच रनले हराएर विजयी सुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ८४ रन मात्र बनाएको थियो । मलेसियाले लक्ष्य पछ्याउने क्रममा २० ओभरमा नौ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो । नेपालले गत हप्ता चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा मलेसियासँग हार बेहोरेको थियो । त्यसैले यो जित बदला पनि भएको छ ।

नेपालले अन्तिम समयमा खेल उल्टाएर जित हात पारेको हो । नेपाललाई कम स्कोरमै सीमित पारेपछि मलेसियाले ब्याटिङमा पनि राम्रो सुरुवात गरेको थियो । मलेसियालाई अन्तिम चार ओभरमा मात्र १७ रन आवश्यक थियो । सो समय मलेसियाको सात विकेट पनि सुरक्षित थियो । सो प्रतिकूल परिस्थितिमा बलिङ गर्न आएकी स्पिनर कविता जोशीले पहिलो ओभरमा नै मात्र दुई रन खर्चेर दुई विकेट लिएपछि पहिलो पटक नेपालको जितको पनि सम्भावना बन्यो । सो ओभरमा जोशीले विन्फ्रेड डुराइसिङ्घमलाई क्याचआउट गराउनुभयो । विल्फ्रेडले ३९ बलमा सर्वाधिक २८ रन बनाउनुभयो ।

विल्फ्रेड आउट हुनु एक बलअघि मात्र माहिरा इज्जती पनि रनआउट हुनुभएको थियो । अर्को ओभरमा इन्दु वर्माले दुई रन मात्र खर्चिनुभयो । त्यसपछि जोशीले १९ औँ ओभरको पहिलो बलमा आइसा इलिसालाई पनि आउट गरेपछि मलेसियालाई खेल जित्न कठिन बन्यो । सोही ओभरमा अरिया नाट्स्या पनि रनआउट हुनुभएको थियो ।

त्यसपछि तेज बलर कविता कुँवरले फालेको अन्तिम ओभरमा पनि मलेसियाले दुई विकेट गुमाएर मात्र तीन रन जोडेपछि नेपालले प्रतियोगितामा विजयी सुरुवात ग¥यो । यसरी अन्तिम चार ओभरमा गरेको गजबको प्रदर्शनबाट हारको सँघारमा रहेको नेपाल विजयी भएको हो । मलेसियाका लागि प्रारम्भिक ब्याटर आइना हामिजाले १४ र मास एलिसाले १० रन योगदान दिनुभयो ।

कविता जोशीले १७ औँ र १९ औँ ओभरमा बलिङ गरी मात्र पाँच रन खर्चेर दुई विकेट लिनुभयो । प्रारम्भिक तेज बलर कविता कुँवरले चार ओभरमा दस रन दिएर दुई ब्याटरलाई आउट गर्नुभयो । कप्तान रुविना क्षेत्री र अश्मिना कर्माचार्यले एक एक विकेट लिनुभयो ।

यसअघि नेपालले सुरुका तीन बलमा तीन विकेट गुमाएर दयनीय सुरुवात गरेको थियो । नेपालको पालिको उद्धार अनुभवी क्रिकेटर सीता रानामगरले गर्नुभयो । सीताले ५४ बलमा एक चौकासहित सर्वाधिक ३८ रन बनाएपछि नेपालले चुनौती गर्न सकिने स्कोर तयार पारेको हो । सीताले अप्सरी वेगमसँग मिलेर छैटौँ विकेटका लागि ५१ रनको साझेदारी गर्नुभयो । अप्सरी १७ रन बनाएर आउट हुनुभएन । कप्तान रुविनाले १३ बलमा १२ रन बनाउनुभयो । अन्य ब्याटरको प्रदर्शन उल्लेख लायक रहेन ।

यो प्रतियोगिता महिला विश्वकपमा पुग्ने बाटो हो । नेपालको समूहमा मलेसियाबाहेक संयुक्त अरब इमिरेट्स, कतार, भुटान र बहराइन पनि रहेका छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्ने छन् । जसबाट फाइनल पुग्ने दुई देशले ग्लोबल महिला टी–२० विश्वकप छनोट खेल्ने छ । जहाँ दस टिमले विश्वकपका लागि योग्य हुने दुई स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । महिला विश्वकप टी–२० सन् २०२४ मा बङ्गलादेशमा हुँदै छ । पछिल्लो संस्करण अस्ट्रेलियाले जितेको थियो ।

प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस