२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सेयर कारोबार सम्बन्धि यस्तो आयो नयाँ नियम, ब्रोकरको आचारसंहितापनि जान्नुहोस्

New rules and code of conduct for brokers regarding share trading : काठमाडौं । सेयर ब्रोकरले कुनै कम्पनीको धितोपत्र आफ्नो तथा आफ्नो परिवारको नाममा खरिद बिक्री गर्नु परेमा नेप्सेबाट पूर्व स्वीकृत लिएर लिनुपर्ने प्रस्ताव नेप्सेले गरेको छ । नेप्सेको सञ्चालक समितिबाट स्वीकृत भएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी) सदस्यता तथा सुपरिवेक्षण विनियमावली २०८० मा सेयर ब्रोकरका एकाघर परिवारका सदस्यले सेयर कारोबार गर्दा अर्को सदस्य व्यवसायी मार्फत मात्र खरिद–बिक्री गर्न सक्ने प्रस्ताव गरिएको छ ।

नेप्सेको सञ्चालक समितिबाट स्वीकृत भएर नेपाल धितोपत्र बोर्डमा पठाएको नियमावलीमा नेप्सेको सदस्यता प्राप्त सदस्य व्यवसायीले कम्पनीको नाम, अंशियारवालाको नाम तथा तिनीहरुको एकाघर परिवारको नाममा सेयर खरिद–बिक्री गरेको विवरण तत्कालै नेप्सेमा पेश गर्नुपर्ने प्रस्ताव गरीएको छ । सदस्यता प्राप्त व्यवसायीले आफ्नो कम्पनीबाट कम्पनीको नाममा धितोपत्र खरिद–बिक्री रोक लगाएपनि धितोपत्र व्यापारी (स्टक डिलर) ले आफ्नो कम्पनीको नामबाट धितोपत्र खरीद बिक्री गर्न सक्नेछ । विनियमावली संशोधन मार्फत सेयर ब्रोकरलाई जवाफदेही बनाउन खोलिएको छ । एक आर्थिक वर्षमा सदस्यले दुई पटक भन्दा बढी सचेत वा लिखित चेतावनी पाएमा, धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम नेप्सेलाई दिनुपर्ने सूचना तथा जानकारी नदिएमा, तथा धितोपत्रको मूल्यमा अस्वाभाविक उतार चढाव ल्याउने प्रयास गरेमा सेयर ब्रोकरलाई नेपसेले निलम्बन गर्नसक्ने प्रस्ताव गरीएको छ ।

यस्तै नेप्सेले स्वीकृति दिएका बाहेक अन्य सफ्टवेयर र टर्मिनल प्रयोग गरेमा, नेप्सेले दिएको आदेश तथा निर्देशनको पालना नगरेमा पनि निलम्बन गर्न सक्नेछ । सुपरिवेक्षण प्रतिवेदनमा लगानीकर्तालाई हानी हुने, कारोबार प्रणालीमा क्षति पुग्ने वा बजारमा विकृति आउने किसिमको कैफियत देखिएमा वा अन्य कुनै कारणबाट निलम्बन गर्नुपर्ने देखिएमा उक्त सेयर ब्रोकर निलम्बन गर्न सक्नेछ ।

तर, नेप्सेले सदस्यता निलम्वन गर्नुअघि त्यसरी सदस्यता निलम्वन गर्नु पर्ने कारण समेत खोली उचित समय दिई सम्वन्धित सदस्यलाई आफ्नो जवाफ सहित सफाई पेश गर्ने अवसर अवसर भने पाउनेछ । सदस्यले सफाइका लागि पेश गरेको जवाफ सन्तोषजनक नभएमा वा जाँचबुझ गर्दा उक्त सदस्यले ऐन, नियम, विनियम, आचारसंहिता विपरीत कार्य गरेको वा गर्नु पर्ने कुनै काम नगरेको देखिएमा नेप्सेले त्यस्तो सदस्यलाई कम्तिमा १५ दिनका लागि सदस्यता निलम्बन गर्न सक्ने व्यवस्था गरिएको छ ।

हाल कार्यान्वयनमा रहेको नियमावलीमा सदस्यता निलम्बन गर्न सक्ने व्यवस्था रहेपनि कति दिनका लागि निलम्बन हुने भन्ने स्पस्ट व्यवस्था थिएन । तर ब्रोकरलाई सफाइ पेश गर्न भने ३ महिनाको समय तोकिएको थियो । स्पष्टीकरण पेश गर्न दिएको ३ महिनाको समयमा नेप्सेले उक्त संस्थालाई कारोबार सञ्चालन गर्न दिनु उचित नदेखिएमा भने उक्त अवधिमा निलम्बन गर्नसक्ने व्यवस्था थियो । कम्पनीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएमा नेप्सेले सदस्यता खारजे गर्नसक्ने प्रस्ताव गरिएको छ ।

सेयर ब्रोकरले पालना गर्नुपर्ने आचारसंहिता

सेयर ब्रोकरले ग्राहकलाई कारोबार व्यवस्थापन प्रणालीमा अनधिकृत पहुँच दिनु नहुने उल्लेख छ । ग्राहकले कारोबार व्यवस्थापन प्रणालीमा कुनै किसिमले अनधिकृत पहुँच पुर्‍याइ वा अन्य कुनै गैरकानुनी गतिविधि गरी बजारलाई प्रभावित गरेको पाइएमा त्यस्ता ग्राहकको कारोबार खाता तत्कालै बन्द गरी नेप्सेलाई जानकारी गराउनु पर्ने उल्लेख छ । यस्तै ग्राहकलाई धितोपत्रको रकम बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने, ग्राहकसँग तोकिएको रकम मात्र लिनुपर्ने ग्राहकसँग लिएको पेश्की रकम वा ग्राहकले उपलब्ध गराएको वा ग्राहकलाई उपलब्ध गराउनु पर्ने अन्य रकमको लगानीबाट प्राप्त व्याज वा लाभांशको रकम आफ्नो कारोबार वा अन्य प्रयोजनका लागि उपयोग गर्न नहुने जस्ता व्यवस्था गरिएको छ ।

यस्तै कारोबारको सिलसिलामा ग्राहकको लगानी सम्बन्धी गोप्य सूचना, विवरण वा कुनै जानकारी प्रकाशन वा प्रसारण दुरुपयोग गर्न नहुने, लगानीकर्तालाई भ्रम सिर्जना गर्ने र धितोपत्र बजारलाई प्रतिकूल प्रभाव पार्ने विज्ञापन गर्न नहुने, ग्राहकलाई कारोबार राफसाफ सम्पन्न भए पश्चात्त तुरुन्त रकम भुक्तानी दिनु पर्ने व्यवस्था पनि नियमावलीमा गरीएको छ । प्राप्त रकम अन्यत्र परिचालन गर्ने वा आफ्नो आय आर्जन गर्ने कार्यमा उपयोग गर्न नहुने सम्बन्धित सूचीकृत कम्पनीको धितोपत्र नियामानुसार एक व्यक्तिको स्वामित्वमा राख्न पाउने अधिकतम संख्या भन्दा बढी हुने गरी कारोबार गर्न ब्रोकरलाई रोक लगाइएको छ ।

झुठो बजार खडा गर्ने वा कृत्रिम माग तथा आपूर्ति सिर्जना गर्ने गरी आदेश प्रविष्टी गर्ने वा म्याचिङ कारोबार रोक लगानीको छ । कारोबार प्रणाली छेडछाड गर्ने वा कारोबार प्रणालीमा अनधिकृत पहुँच राख्ने, मूल्यमा अस्वाभविक उत्तारचढाव ल्याउने कार्यमा पनि नियमावलीले रोक लगाएको छ । जालसाजी कारोबार गर्ने तथा कुनै निश्चित कम्पनीको धितोपत्रको मूल्य र परिमाणलाई मात्र प्रभावित गर्ने गरी कार्य गर्ने वा सर्कुलर ट्रेडिङ, फन्ट रनिङ भित्री कारोबार वा ऐन, नियम, विनियम वा निर्देशिका विपरीतका कुनै पनि कार्य गर्न रोक लगाएको छ । आफ्नो ग्राहकले धितोपत्रको आदेश प्रविष्टी वा कारोबार गर्दा माथि उल्लेख गरिएका कुनै कार्य गरेको पाइएमा तत्कालै नेप्सेलाई जानकारी गराउनु पर्नेछ ।

नयाँ नियमावलीमा बजार निर्माता र निष्कासन तथा बिक्री प्रबन्धको व्यवस्था हटेको छ । सेयर ब्रोकरले बुझाउनुपर्ने शुल्क पनि बढाइएको छ। धितोपत्र दलालको सिफारिस शुल्क १५ हजार, निवेदन शुल्क २५ हजार, सदस्यता शुल्क सीमित दलाल सेवाका लागि १ लाख र पूर्ण दलाल सेवाका लागि १ लाख ५० हजार रुपैयाँ पुर्‍याइएको छ।

यस्तै धितोपत्र व्यापारीहरुको सिफारिस शुल्क २५ हजार, निवेदन शुल्क ५० हजार र सदस्यता शुल्क ५ लाख रुपैयाँ तोकिएको छ । शाखा कार्यालय लगइनका लागि पनि ब्रोकर तथा धितोपत्र व्यापारीले नेप्सेलाई शूल्क बुझाउनु पर्नेछ । यसका लागि निवेदन शुल्क ब्रोकरका लागि १५ हजार र धितोपत्र व्यापारीका लागि ३० हजार रुपैयाँ तोकिएको छ ।

पूर्वाधार विकास शुल्कबापत सीमित काम गर्ने ब्रोकरले २५ लाख, पूर्ण कार्य गर्नेले ५० लाख तथा व्यापारीले ७५ लाख बुझाउनु पर्छ। यी सबै शुल्कहरु पहिलोपटक सदस्यता लिँदा मात्र बुझाउनु पर्ने छ। वार्षिक नवीकरण शुल्क ब्रोकर कम्पनीका लागि सीमित सेवा गर्नेका हकमा ५० हजार र पूर्ण सेवा गर्नेका हकमा १ लाख तथा व्यापारीका लागि ३ लाख रुपैयाँ तोकिएको छ।

 

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस